Friday, April 24

समानुपातिकतर्फ निवेदन निर्वाचन आयोगकाे आह्वान

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आह्वान गरेको छ।

आयोगले बुधबार एक सूचना जारी गर्दै आगामी भदौ १० देखि १२ गतेसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौँमा निवेदन दिन भनेको छ।

Advertisement

आयोगले गत साउन २२ देखि ३१ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८४ वटा दल दर्ता भएका थिए। दर्तामध्ये १२ वटा दलले तालमेल गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्न चार वटा समूह बनाएका छन्। दर्ता दलमध्ये समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगमै स्थापना भएको छ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकमा भाग लिन मुख्य निर्वाचन अधिकृतकै कार्यालयमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ।

एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग–अलग रूपमा निवेदन दिन पाउनेछन्।

‘एकल चुनाव चिन्ह लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निवेदन  दिँदा  त्यस्ता  सबै  दलको  केन्द्रीय  समितिले  संयुक्त  वा  अलग  अलग  रूपमा  निर्णय  गरी  एउटै  व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिले र त्यस्ता दलहरूले निर्णय गरी अलग अलग व्यक्तिलाई  अधिकार  दिएकोमा  त्यस्तो  अधिकार  प्राप्त  व्यक्तिहरूले  संयुक्त  रूपमा  हस्ताक्षर  गरी  निवेदन  दिनुपर्नेछ’, सूचनामा भनिएको छ।

दलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छुट्टै र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ प्रत्येक प्रदेशका लागि छुट्टै निवेदन दिनुपर्नेछ।

आयोगको निर्वाचन कार्यतालिकाबमोजिम समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची आगामी असोज २ र ३ गते पेस गर्नुपर्नेछ।