Friday, April 24

कार्यदल लगत्तै गठबन्धनका शीर्ष नेताकाे बैठक बस्ने

नेपालअखबार, काठमाडाैं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बिहीबार दिउँसो ३ बजे बस्ने भएको छ । सिट बाँडफाँट गर्न बनेको कार्यदलले आजै प्रतिवेदन बुझाउने भएपछि त्यसमाथि छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो

‘कार्यदलको बैठक सकिएपछि शीर्ष नेताको बैठक बोलाइएको छ’, बालुवाटार स्रोतले भन्यो,‘कार्यदलले बुझाउने प्रतिवेदनमा छलफल होला ।’

Advertisement

यसअघि दिउँसो १ बजे बस्ने भनिएको बैठक समय परिवर्तन गरेर ३ बजेलाई सारिएको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पहिला दिउँसो १ बजे शीर्षको बैठक बस्ने भनिएपनि पुन समय परिवर्तन गरेर ३ बजे बस्नेगरी खवर आएको बताए ।

‘शीर्षको बैठक १ बजे भनेका थिए । सारेर फेरि ३ बजेलाई भनेर खवर आएको छ’, केसीको भनाइ छ । कार्यदलमा सहमतिका लागि समय लाग्ने भएकाले शीर्षको बैठक सारिएको हुनसक्ने अध्यक्ष केसीले बताए ।

कार्यदलको बैठक बिहीबार बिहान साढे नौ बजेदेखि बालुवाटारमा जारी छ । आजको बैठकमा माओवादीबाट कार्यदल सदस्य बनेका महासचिव देव गुरुङ र राष्ट्रिय जनमोर्चाका आनन्द शर्माले स्वास्थ्यका कारण सहभागी हुन नसकेको बताएका छन् ।

सिट बाँडफाँटमा सहमति जुटाउने अभिप्रायले बसेको बैठकमा दलका नेताहरुले नेता व्यवस्थापन गर्न कठिन हुने भन्दै धेरै सिटमा दावी नछोडेपछि सहमति जुटाउन सकस परिरहेको छ । यद्यपी आजै प्रतिवेदन तयार गरेर शीर्ष नेतालाई बुझाउने कार्यदलको तयारी छ ।