Thursday, June 25

अयोध्याबाट आइपुग्यो ‘रामराज्य रथ’

नेपालअखबार, महाेत्तरी। भगवान रामचन्द्रको जन्मभूमि अयोध्याबाट शुक्रबार ‘रामराज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ।

श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ शुक्रबार जलेश्वर आइपुगेको हो।

Advertisement

सयौं साधुसन्तसहित महोत्तरीको प्रमुख भन्सार नाका भिट्ठामोड आइपुगेको रथ यात्रालाई जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले फूल, माला, अबिरसहित स्वागत गर्दै विशेष पूजा तथा प्रसाद ग्रहणका लागि बाबा जलेश्वरनाथको मन्दिरमा लगेका छन्।

भारत र नेपालको आध्यात्मिक एवं सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने र आपसी भाइचारा बढाउने उद्देश्यका साथ जलेश्वर आइपुगेको यस रथयात्रा जलेश्वरनाथ महादेवको दर्शनपछि आजै जनकपुरधाम लगिने छ।

नेपालको जलेश्वर, जनकपुर, हेटौंडा, नारायणघाट र काठमाडौंसम्म जाने यस यात्रा नेपालमा आठ दिनसम्म विभिन्न मठमन्दिरमा दर्शन एवं पूजाअर्चना गर्नेछन्।

यही असोज १८ गते अयोध्याको राम मन्दिरबाट साधुसन्तको लावालस्करका साथ आरम्भ भएको यस रथ यात्राले ६० दिनसम्म नेपाल र भारतको विभिन्न २७ ठाउँको भ्रमण गर्नेछन् भने १५ हजार किलोमिटरसम्म यात्रा गर्नेछन्। रासस