खेलकुदसमाचार

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा मधेश र बागमती प्रदेशको विजयी सुरुआत

नेपालअखबार, पाेखरा। गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका खेलहरु आजदेखी सुरु भएका छन् ।
प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सम्पन्न भएका दुई खेलमा मधेश प्रदेश र बागमती प्रदेशले विजयी सुरुआत गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा मधेशले आयोजक गण्डकी प्रदेशलाई तथा बागमती प्रदेशले सुदुर पश्चिम प्रदेश माथि जित हासिल गरे ।
मधेशले आयोजक गण्डकी प्रदेशमाथि ४० रनको फराकिलो अन्तरको जित दर्ता गर्न सफल भयो । मधेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमात्र जोडन् सफल भयो ।
खेलमा टस जितेर गण्डकीले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ७७ रनको योगफल तयार पारेको थियो।
गण्डकीका शिला क्षत्रीले सर्वाधिक दस रन जोड्नुभयो । ओपनर सृजना पौडेलले ३६ बलको सामना गर्दै सात रन बनाउनुभयो ।
मधेशका अनुराधा चौधरीले चार विकेट लिनुभयो । कविता गौतम र शान्ती चौधरीले समान दुई÷दुई विकेट लिँदा सन्तोषी चौधरीले एक विकेट लिन सफल हुनुभयो ।
मधेस प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रनको योगदान दिनुभयो । मधेश प्रदेशलाई कम स्कोरमा रोक्न गण्डकी प्रदेशकी आकृति तिवारी एक्लैले तीन विकेट लिनुभयो ।कुसुम गोदारले दुई तथा सृष्टि जैसी र शिला क्षत्रीले समान एक÷एक विकेट लिनुभयो ।

दोस्रो खेलमा स्मिता खरेल र कञ्चन श्रेष्ठको उत्कृष्ट साझेदारीमा बागमतीले सुदूरपश्चिमलाई आठ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको ७२ रनको लक्ष्य बागमतीले १३ दशमवल एक ओभरमा दुई विकेटको नोक्सानीमा भेट्टाउन सफल भयो ।

टस जितेर बागमतिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेश १८ दशमलव दुई ओभरमा ७१ रनमा अलआउट भएको थियो । अनु कडायतले जोडेको २२ रन नै सुदूरपश्चिमका लागि सर्वाधिक रह्यो । उहाँले २३ बलमा दुई चौका हान्दै २२ रनको योगदान दिनुभयो । बागमती प्रदेशकी सोनी पाख्रिन एक्लैले पाँच विकेट लिनुभयो ।

महिला क्रिकेटका सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ‘क’ मा आयोजक गण्डकी प्रदेश सहित सशस्त्र प्रहरीको एपीएफ, मधेश प्रदेश, सुदुर पश्चिम र बागमती प्रदेश छन् । यसैगरी समुह ‘ख’ मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश नं १ र लुम्बिनी प्रदेश रहेका छन् ।
यसअघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र राष्टिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बलिङ व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा सदस्य सचिव घिसिङले राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुद सफल पार्न सबै प्रदशेवासीमा आग्रह गर्नुभयो ।

नवौँ राष्ट्रिय खेलकुद यही असोज २८ देखी कात्तिक ३ गतेसम्म औपचारिक रुपमा गण्डकीका आठ जिल्लामा हुँदैछ । समय अभावका कारण केही खेल प्रतियोगिता औपचारिक सुरु हुनु अगावै सञ्चालन गरिएको हो ।राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाएका छन् ।

the authoradmin