Saturday, July 11

दुर्गम क्षेत्रमा एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने माओवादीको घोषणा

नेपालअखबार, काठमाडौं। नेकपा माओवादी केन्द्रले अति दुर्गम र कर्णालीका जिल्लामा दुई जिल्ला बराबर एक हेलिकप्टरको व्यवस्था गरी एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

Advertisement

सोमबार सार्वजानिक घोषणापत्रमा दुर्गम क्षेत्रका गर्भवती महिला र सुत्केरीले समयमा उपचार नपाउँदा अल्पआयुमै हुने मृत्युलाई रोकथाम गर्न लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने घोषणा गरेको छ ।

Advertisement
Advertisement

‘गाउँ–गाउँमा अस्पताल, स्वास्थ्यमा समाजवाद’ भन्ने मुल नाराका साथ माओवादी केन्द्रले विभिन्न १५ बुँदे प्रतिबद्धता जनाएको छ ।

Advertisement

हरेक पालिकामा आधारभूत अस्पतालहरूको निर्माण सम्पन्न गरी दक्ष जनशक्ति र आवश्यकस्वास्थ्य उपकरणको व्यवस्था गरिने र प्रदेशस्तरमा ठुलो क्षमताका विशिष्टीकृत सेवाका अस्पतालहरू निर्माण र सञ्चालनमा जोड दिइने घोषणापत्रमा उल्लेख छ ।

त्यसैगरी, स्वास्थ्य सेवाको गुणस्तर बृद्धि र विशिष्टिकृत स्वास्थ्य सेवाको उपलव्धताबाट नेपाली नागरिक उपचारका लागि विदेश जानु नपर्ने र विदेशी नागरिक समेत उपचारका लागि नेपाल आउने बाताबरण निर्माण गरिने बताइएको छ । माओवादीले औषधि उत्पादनमा आत्मनिर्भर हुने कुरा उल्लेख गरेको छ ।

‘स्वास्थ्य क्षेत्रमा राज्यको लगानी र भूमिका वृद्धि गरी सबैले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवस्था सिर्जना गर्न स्वास्थ्य क्षेत्रको सेवालाई जनमैत्री, वैज्ञानिक र प्रभावकारी बनाउन एकीकृत राष्ट्रिय स्वास्थ्य गुरूयोजना बनाई लागु गरिने छ,’ प्रतिबद्धतामा भनिएको छ ।

सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रम, औषधि उद्योग तथा जडीबुटी प्रशोधन केन्द्रहरुको पुनर्संरचना गरी प्रतिस्पर्धी मुल्यमा गुणस्तरीय औषधि उत्पादन हुने व्यवस्था, १०० वा सो भन्दा बढी शय्या भएका अस्पतालहरुमा बालबालिका तथा जेष्ठ नागरिकहरुको उपचारको लागि छुट्टै एकाइ तथा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्ने माओवादी केन्द्रले प्रतिबद्धता जनाएको छ ।

घोषणापत्रमा स्वास्थ्य क्षेत्रको सेवालाई जनमैत्री, वैज्ञानिक र प्रभावकारी बनाउन एकीकृत राष्ट्रिय स्वास्थ्य गुरूयोजना बनाई लागु गरिने केन्द्रले प्रतिबद्धता जनाएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई यातायात, चाडबाड र विशेष स्वास्थ्य अभियान चलाए बापत थप सेवा सुविधाको प्रबन्ध गरिने छ । स्वास्थ्यमा प्रवर्धनात्मक र निरोधात्मक कार्यक्रम सञ्चालन गरिने केन्द्रले घोषणापत्रमा उल्लेख गरेको छ ।