Sunday, July 12

कर्णाली करिडोर सडकको पहिरो पन्छाउन सुरू

नेपालअखबा, कर्णाली। कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा गएको पहिरो पन्छाउने काम सुरू भएको छ।

Advertisement

गत असोज १९ गते आएको वर्षाका कारणले करिब २५ दिनदेखि अवरूद्ध कर्णाली करिडोरको पहिरो आजदेखि पन्छ्याउन थालिएको हो।

Advertisement
Advertisement

भिरालो जमिन भएका कारणले माथिबाट निरन्तर सुख्खा पहिरो खस्दा पहिरो पन्छ्याउन समस्या भएको थियो।

Advertisement

अहिले सुख्खा पहिरो खस्न कम भएपछि डोजर लगाएर पहिरो पन्छ्याउन थालिएको हो। पहिरो खस्न कम भएपछि अवरूद्ध रहेको कर्णाली करिडोरको पहिरो पन्छ्याउन थालिएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए।

पहिरो स्थायी रूपले रोकथामका लागि विपद् व्यवस्थापन समितिमा छलफल भइरहेको तत्काललाई डोजर लगाएर कर्णाली करिडोरको ट्र्याक खोल्ने काममात्रै हुने अध्यक्ष केसीले जानकारी दिए।

‘पहिरो निरन्तर बगिरहने समस्याका रहेको छ’, उनले भने, ‘पहिरो रोक्ने दीर्घकालीन उपायका लागि विपद् व्यवस्थापन समितिमा छलफल भइरहेको छ।’

सडक खुलाउनका अहिले डोजर प्रयोग भइरहेको र बिहीबारसम्म सडक सञ्चालनमा आउने हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले जानकारी दिए।

‘पहिरो रोकिनासाथ करिडोर खुलाउने योजनाका साथ मेसिन र जनशक्ति तयारी अवस्थामा राखेका थियौं’, उनले भने, ‘मङ्गलबारबाट पहिरो रोकिएका कारणले आज बिहानैबाट पहिरो खुलाउन थालिएको छ। भोलिबाट करिडोर पूर्ण रूपमा सञ्चालनमा आउँछ।’

कर्णाली करिडोर अवरूद्ध हुँदा कालीकोट, बाजुरा, हुम्ला र मुगु जिल्लाका स्थानीयवासीले कष्टपूर्ण यात्रा गर्दै आएका थिए।

कर्णाली करिडोर सञ्चालनमा आए नागरिकलाई यात्राका लागि सहज हुने कालीकोट रास्कोट नगरपालिका–५ का स्थानीयवासी हुकुम शाहीले बताए।

कर्णाली करिडोरअन्तर्गत कालीकोट जिल्लामा ४० किलोमिटर सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किलोमिटर र हुम्ला जिल्लामा एक सय १३ किलोमिटर रहेको छ। रासस