नेपालअखबार, काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र छापिएको छ ।
निर्वाचन आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गतेसम्मको समयसीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छापेर सकेको हो ।
शुक्रवार जनक शिक्षा सामग्रीमा मतपत्र छपाइ सम्बन्धी कामको अवलोकन गर्दै निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधि भन्दा दुई दिन अगावै सबै मतपत्र छापिएको बताए ।
उनले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाइ सकिएको र नमूना मतपत्र २२ लाख गरी कुल करिब ८ करोड २५ लाख मतपत्र छापिएको बताए ।