Uncategorized

कास्की–२ मा गठबन्धनको घरदैलो

नेपालअखबार, पाेखरा । कास्कीको क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारसहितको घर दैलो कार्यक्रम गरिरहेका छन् । घरदैलो कार्यक्रम अन्तर्गत शनिबार आज पोखरा २० र पोखरा ३३ मा घरदैलो अभियान चलेको पाँच दलीय गठबन्धन चुनाव प्रचार प्रसार समितिका संयोजक नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति केशर निर्दोशीले जानकारी दिए ।

घरदैलो कार्यक्रम अन्तर्गत पोखरा २० भलाममा कोणसभा गरिएको थियो । उक्त सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकासप्रेमी जनताका अपेक्षा पुरा गर्ने काम आफूहरूबाट मात्र सम्भव रहेको बताए ।

‘नाम मदन भण्डारीको जप्ने, जनताको बहुदलीय जनवादको कुरा गर्ने तर काम जनता विरोधी गर्ने, जनताको अभिमत खण्डित गर्ने र संविधानलाई कुल्चने काम भयो । हामीले धेरै पटक सच्याउने प्रयास गर्यौं तर एमालेको नेतृत्व सच्चिएन । त्यसपछि हामीले विद्रोह गर्नुपरेको हो । तपाईलाई थाहा छ । तपाईहरुसँग म अरुका लागि मत माग्न धेरैपटक आएको छु । तपाईले मत दिएर यस अगाडि प्रतिनिधिसभामा पठाएकाले काम गर्न सकेनन् । जनताका एजेन्डा भन्दापनि अर्कै ढंगले अगाडि बढे’ उनले भने ।

गठबन्धनको तर्फबाट कास्की २ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार कांग्रेस नेता विन्दुकुमार थापाले संविधान च्यात्न खोज्ने र जनमतलाई खण्डित गर्नेहरूको विरुद्ध आफूहरूले गठबन्धन गरेर अगाडि बढेको बताए । आफ्नो पहिलो कार्यकालमा प्राप्त गरेको सेवा सुविधा जनताका योजनामा नै खर्च गरेको स्मरण गराउँदै उनले दोस्रो कार्यकालमा पनि त्यसलाई निरन्तरता दिँदै बाँकी रहेका योजना पुरा गर्ने उनको प्रतिबद्धता छ ।

कोणसभामा नेपाली कांग्रेसबाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार वृन्दा राना, नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रत्ना कुमारी गुरुङ, गठबन्धनको चुनाव प्रचार प्रसार समितिका चोलेन्द्र पौडेल र स्थानीय टोल विकास संस्थाका अध्यक्ष चोकबहादुर गुरुङ लगायतले उक्त अवसरमा बोलका थिए ।

उता गठबन्धनको तर्फबाट कास्की २ (क) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार रहेका माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछाने आफूहरू चुनावी अभियान मात्र नभइ विकास र समृद्धिको अभियान ल्याउन जनताको बीचमा आएको बताएका छन् । पोखरा ३३ को चौवादीमा चुनावी अभियानका क्रममा बोल्दै उनले संविधानमा शिक्षा, स्वास्थ्य रोजगारी र आवासको ग्यारेन्टी गरिएको भन्दै त्यसको कार्यान्वयनमा लाग्ने धारणा राखे । विकास र समृद्धिको लागि गठबन्धन आवश्यक रहेको उनको भनाई छ ।

the authoradmin