समाचारसमाज

‘भोट माग्न अहिलेसम्म कोही पनि आएका छैनन्’

नेपालअखबार, गुमेला (सोलुखुम्बु)। चुनाव उत्सव हो। यो बेला मुलुकका सबै जसो ठाउँँमा राजनीतिक गतिविधि अत्यधिक  भएका  छन्। भान्सादेखि खेतबारी, घरको आँगनदेखि गाउँँका चिया पसल र चौतारामा पनि निर्वाचनकै कुरा हुने गरेको छ। धेरैजसो ठाउँमा यतिबेला दसैं तिहारकै जस्तो रमाइलो वातावरण छ।

विदेश तथा स्वदेशका विभिन्न ठाउँमा छरिएर रहेकाहरू मतदान गर्नकै लागि घर फर्किने क्रम जारी छ।

उम्मेदवारलाई घरदैलो गर्न र मतदातालाई रिझाउन होडबाजी नै चल्छ।

उम्मेदवार र तिनका कार्यकर्ताहरू मतदातालाई खेतबारीमै गएर भेटेर मत माग्दै गरेका छन्। कतिपय उम्मेदवारले खेतमै गएर किसानलाई काममा सघाएको पनि देख्न पाइएको छ।

निर्वाचनले गर्दा पाँच वर्षमा एक पटक हुने मतदाता र उम्मेदवारको प्रत्यक्ष रूपमा भेटघाट हुन पाएको छ।

मतदाताले आफ्ना तीतामीठा कुरा धित मरुञ्जेल उम्मेदवार, पार्टीका नेता कार्यकर्तालाई सुनाउन पाएका छन्। एक आपसमा राम्रोसित घुलमिल हुने तथा चिनजानको अवसर पनि यही नै हो। उम्मेदवारहरू अरू बेला गाउँघरमा त्यति धेरै गएको र मतदातालाई भेट्ने गरेको हामीकहाँ कमै पाइन्छ। यतिबेला गाउँघरमै गएर मतदातालाई भेट्नु हरेक उम्मेदवारको बाध्यता जस्तै पनि हो। मतदातालाई पनि आफ्नो प्रतिनिधिलाई चिन्ने र आफ्ना समस्या राख्ने महत्वपूर्ण अवसर पनि यतिबेला नै हो।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ को गुमेला गाउँँको दृश्य भने एकदमै फरक छ।

दूधकोशी नदी किनारको फाक्दिङबाट एक घण्टा उकालो पार गरेपछि पुगिन्छ गुमेला। खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा पर्ने ११ गाउँमध्येको एउटा गाउँ हो यो। यसलाई ठूलो गुमेला र सानो गुमेला भनेर छुट्याएको छ। माथिल्लो बस्ती ठूलो गुमेला र तल्लो बस्ती सानो गुमेलाका नामले चिनिन्छ।

यहाँ पुग्दा गाउँ सुनसान थियो। घरमा महिला र बालबालिका मात्र थिए, पुरुष जति सबै काममा। यो विश्वको सर्वोच्च हिमशिखर सगरमाथाको पदमार्गमा पर्ने गाउँ हो। त्यसैले यहाँँका पुरुष महिनौंदेखि आन्तरिक तथा बाह्य पर्यटक सँगसँगै छन्। कोही भारी बोक्न, कतिपय पथप्रदर्शक बनेर त कतिपयले अरु व्यापार व्यवसाय गर्न गाउँ छाडेका छन्।

गाउँमा पुग्दा लाक्पाफुटी शेर्पा चिया पकाउँदै थिइन्। निर्वाचनबारे जिज्ञासा राख्दा उनले भनिन्, ‘मङ्सिर ४ गते भोट हाल्न जानुपर्छ भन्ने मात्र थाहा छ, अरु कुरा केही थाहा छैन।’

गाउँमा चुनावी गफगाफ केही नहुने शेर्पा बताउँछिन्।

‘सबै आ–आफ्नो काममा हुन्छन्, कसैलाई फुर्सदै हुँँदैन, एक ठाउँमा भेला हुँदा पनि अरू नै कुराकानी हुन्छ, चुनावको त केही कुरा नै हुँदैन’, उनले भनिन्।

शेर्पालाई जस्तै सर्मिला बराइलीलाई पनि चुनावबारे खासै केही थाहा छैन। मोबाइलमा बज्ने रिङटोनका कारण मंसिर ४ गते निर्वाचन हुने र भोट हाल्न जानुपर्नेसम्म उनलाई जानकारी छ।

‘यहाँँ कोहीले पनि चुनावको कुरा गरेको सुन्दिनँ, भोट माग्न त अहिलेसम्म कोही पनि आएका छैनन्’, निरक्षर बराइलीले भनिन्। जिल्लामा कुन कुन पार्टीबाट को को उम्मेदवार छन् भन्ने पनि उनलाई थाहा छैन।

ठूलो गुमेला र सानो गुमेलामा झण्डै ८० परिवारको बसोबास छ। यहाँ शेर्पा, राई, बराइली, कुलुङलगायत जातिको बसोबास छ। गाउँका केही घरमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका पर्चा पम्पलेट घरका भित्तामा टाँसिएका देखिन्छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे भने कुनै पनि सामग्री भने यहाँ कहीँँकतै भेटिदैनन्।

मतदान गर्न र निर्वाचनबारे जानकारी दिन गाउँमा कोही नआएको यहाँका मतदाता बताउँछन्। हालसम्म कुनै पनि पार्टी र तिनका नेता कार्यकर्ता तथा उम्मेदवार भोट माग्न यहाँ आएका छैनन्।

‘दुर्गम र विकट गाउँ भएका कारण कोही नआएका होलान्’, स्थानीय ७१ वर्षीया विमला कुलुङ भन्छिन्, ‘यसअघिका निर्वाचनमा पनि यस्तै भएको थियो।’

स्थानीय तहको निर्वाचनताका भने गाउँमा निकै चहलपहल भएको उनले सुनाइन्।

‘उम्मेदवार पनि यहीँका भएर होला, त्यो बेला उम्मेदवार भोट माग्न घरदैलोमै आउनुभएको थियो।’ स्थानीय तह बाहेकका अन्य निर्वाचनमा भने यो गाउँँमा कुनै पनि उम्मेदवार भोट माग्न आएको कुलुङलाई सम्झना छैन।

यहाँँका बासिन्दा खेती किसानी गर्दैनन्। खेतबारी नै पर्याप्त छैन। केहीले बारीमा तरकारीसम्म लगाउन भ्याएका छन्। यतिबेला स्थानीयका लागि वर्षभरिको खानपिनको जोहो गर्ने समय हो। पुरुष सबैजसो कमाउन सगरमाथाको आधारशिविर, नाम्चे, खुम्बु, लुक्लातिर गएका छन्।

‘दुई वर्ष कोरोना महामारीले हाम्रो गरिखाने बाटो छेक्यो’, सगरमाथा पदमार्गको फाक्दिङमा पर्यटकको भारी बोक्दै गरेका नोर्बु शेर्पाले भने, ‘यतिबेला घर नछाडे वर्षभरि भोकै बस्नुपर्ने हुन्छ।’

कोरोना महामारीका कारण दुई वर्ष यहाँका बासिन्दाले कष्टकर दिन बिताउनुपर्‍यो। आन्तरिक र बाह्य पर्यटक आएनन्।

स्थानीयले भारी बोक्ने, पथप्रदर्शकको काम तथा अन्य व्यवसाय गर्नै पाएनन्। यस वर्ष भने पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ। त्यही भएर यहाँका मतदातालाई एकछिन फुर्सद छैन।

‘अहिले गाउँघरमा सितिमिति कोही भेटिँदैनन्’, स्थानीय पर्यटन व्यवसायी एवं हेली एभरेष्ट प्रालिका प्रबन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पा भन्छन्, ‘सबै जना काममै व्यस्त हुन्छन्, अहिले कमाएको पैसोले अफ सिजनमा खाने हो, घरखर्च बालबच्चा पढाउने खर्चको जोहो गर्ने बेला पनि यही हो।’

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २० उम्मेदवार चुनावी मैदानमा छन्।

सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीका अनुसार प्रतिनिधि सभातर्फ आठ र प्रदेश सभातर्फ १२ उम्मेदवार मत माग्न व्यस्त छन्।

कोही पनि उम्मेदवार खुम्बु पासाङल्हामु गाउँपालिकामा भोट माग्न आउनु भएको छैन। कांग्रेस, एमाले र माओवादी केन्द्रको जिल्ला नेतृत्वले दुर्गम क्षेत्र भएका कारण मत माग्न गाउँ-गाउँ पुग्न नसकेको स्वीकारेको छ। इच्छा हुँदाहुँदै पनि सीमित समय र जिल्लाको भूगोल ठूलो भएका कारण सबै ठाउँमा मतदातालाई घर-घरमा गई भेट्न नसकिएको उनीहरूको भनाइ छ।

नेपाली कांग्रेसका जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले पार्टीका स्थानीय तहका नेता कार्यकर्ताले नै उम्मेदवारका तर्फबाट मत मागिरहेको बताए।

‘लुक्लासम्म त चुनावी सभा गरेका हौं, त्यहाँदेखि उत्तरतर्फका बस्तीमा समय अभावका कारण पुग्न सकिएन’, उनले भने, ‘मतदाता आफ्नो काममा व्यस्त छन्, घरमा भेटिने सम्भावना पनि कमै छ, त्यसैले सो क्षेत्रमा चुनावी सभा र घरदैलो गरेका छैनौं।’

सत्ता गठबन्धनको प्रचारप्रसारका क्रममा आज जिल्लाको लिखु पिके गाउँपालिकामा रहेका सभापति शेर्पाले सकेसम्म लुक्लादेखि उत्तरतर्फको क्षेत्रमा पुग्ने प्रयासमा आफू रहेको बताए।

यस्तै, नेकपा (एमाले) का जिल्ला अध्यक्ष डुफाकुमार बाँस्तोलाले खुम्बु पासाङल्हामु गाउँपालिकामा आफ्नो पार्टीको सङ्गठन मजबुद भएकाले मतदाताको घरदैलोमा उम्मेदवारले धाउन नपर्ने बताए।

गत वैशाखमा स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा एमालले जितेको प्रसङ्ग उल्लेख गर्दै उनले यस क्षेत्रमा मतदाता घरमा नभेटिने समस्या रहेको बताए।

‘सबै हिमाली भेगमा गएका छन्, घरमा खासै भेटिँदैनन्, त्यही भएर चुनावी सभा र घरदैलोमा उम्मेदवार जानुभएन’, अध्यक्ष बाँस्तोलाले भने।

भौगोलिक विकटताका कारण गाउँ/गाउँ जान समस्या भएकाले एक/दुई दिनमै पार्टीको उम्मेदवार हेलिकप्टरमा खुम्बु क्षेत्रमा मत माग्न जाने उनले जानकारी दिए।

एमालेले यही कात्तिक २१ गते लुक्लामा चुनावी सभा आयोजना गरेको थियो।

यसैगरी नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक असिम राई भौगोलिक विकटताका कारण खुम्बु पासाङल्हामु क्षेत्रमा पुग्न नसकिएको बताउँछन्।

‘मिलेसम्म अझै पनि सत्ता गठबन्धनका उम्मेदवारसहित पुग्ने प्रयासमा छौं’, उनले भने, ‘त्यहाँका मतदाता काममै बढी व्यस्त हुन्छन्, घरमा भेटिने सम्भावना पनि न्यून हुन्छ, त्यसैले कम प्राथमिकता दिएका हौं।’

उम्मेदवार नै प्रत्यक्ष रूपमा पुग्न नकसे पनि स्थानीय नेता कार्यकर्ताले मतदातालाई रिझाउने काम गरिरहेको उनको भनाइ छ।

एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभाका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलबहादुर केसी, नेकपा (एमाले) बाट मानवीर राई, जनता समाजवादी पार्टीबाट ल्हाक्पा शेर्पा, राप्रपाबाट ज्ञानेन्द्रबहादुर बस्नेत, नेपाल मजदूर किसान पार्टीबाट तारानाथ कट्टेल, नेकपा (माले)बाट विष्णुप्रसाद बास्तोला र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ल्हामु शेर्पा उम्मेदवार छन्। एक मात्र महिला उम्मेदवार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी शेर्पा रहेकी छन्।

यस्तै, प्रदेशसभा ‘क’ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट गोम्बु शेर्पा, एमालेबाट उत्तमकुमार बस्नेत, राप्रपाबाट नरबहादुर बस्नेत, जसपाबाट भक्तबहादुर राई, नेमकिपाबाट चेतनाथ खनाल र मंगोल नेशनल अर्गनाइजेशनबाट खेमकुमार राई तथा प्रदेशसभा ‘ख’ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट शिवबहादुर बस्नेत, एमालेबाट बुद्धिकुमार राजभण्डारी, राप्रपाबाट प्रेमहरि दाहाल, जसपाबाट महेशकुमार राना मगर, नेमकिपाबाट कमलबहादुर मगर र मंगोल नेश्नल अर्गनाइजेशनबाट सानीमाया राना मगर उम्मेदवार छन्।  रासस

the authoradmin