Thursday, April 23

समानुपातिक मतको मिटरः १ करोड २ लाख सदर मतमा कसले कति मत

नेपालअखबार, काठमाडाैं ।  मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ।

बिहिबार बिहान साढे ७ बजेसम्म प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ४ क्षेत्रको मतपरिणाम आउन बाँकी छ।

Advertisement

जसमध्ये दोलखामा आज निर्वाचन हुँदैछ भने बाजुरामा गणना हुन अझै सकेको छैन। गणना भइरहेको सुनसरी ४ र स्याङ्जा २ मा नेकपा एमालेले अग्रता लिएको छ।

यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल १ करोड २ लाख १३ हजार ५५४ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ।

एमालेले २७ लाख २६ हजार ३०३ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९३ हजार ७४२ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ५४ हजार १९४ मतका साथ तेस्रो स्थानमा रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ५ हजार ३७१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७९ हजार ७३९ मत पाएको छ।

जनता समाजवादी पार्टी, नेपालले ४ लाख ११ हजार ८५६ मत र जनमत पार्टी ३ लाख ८१ हजार २४४ मत प्राप्त गरेको छ।

यस्तै नेकपा एकीकृत समाजवादी २ लाख ९२ हजार ८२ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ७०५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६० हजार १०३ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन्।

यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको थियो ।

राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।

प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।