राजनीतिसमाचार

काभ्रे दुर्घटनामा १८ जनाको मृत्यु भएकोमा प्रचण्डद्वारा दुःख व्यक्त

नेपालअखबार, काठमाडाैं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा  १८ जनाको मृत्यु भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् ।

उक्त दुर्घटनामा परी निधन भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै प्रचण्डले दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बढ्दो सवारी दुर्घटना रोक्न सबैको सामूहिक पहल गर्नुपर्नेमा पनि प्रचण्डले जोड दिएका छन् ।

मङ्गलबार साँझ भएको सो बस दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये १३ जनाको सनाखत भएको छ । बा३ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

मृत्यु भएकामध्ये सात जना बनेपाको एउटै वडाका छन् । बनेपा नगरपालिका–११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो ।

the authoradmin