दुर्घटनासमाचार

कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु

नेपालअखबार, धनगढी । कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा शुक्रबार बिहान बसको ठक्करबाट २१ वर्षीय कविराज वैद्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दार्चुलातर्फ गइरहेको ना ६ ख ६५२१ नम्बरको यात्रुबाहक बसले ठक्कर दिंदा साइकल चढेर क्याम्पस गइरहेका वैद्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए ।

वैद्य महेन्द्रनगरको कञ्चन विद्या मन्दिर सामुदायिक क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

यसैबीच घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।

the authoradmin