Thursday, May 7

आयोगले निर्वाचन प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने जानकारी दिए।

Advertisement

यसका लागि आयोगका पदाधिकारी हरेक प्रदेशका राजधानी पुगिसकेका छन्।प्रवक्ता पौडेलका अनुसार प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १,आयुक्त सगुनशमशेर जबरा मधेश र सचिव गोकर्णमणि दुवाडी वागमती प्रदेशको राजधानीहरूमा पुगेका छन्।

यस्तै गण्डकीमा आयुक्त इश्वरीप्रसाद पौडेल, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी र कर्णालीमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त जानकी कुमारी तुलाधर पुगेका छन्। उनीहरूले एकै समयमा शनिबार प्रतिवेदन बुझाउने प्रवक्ता पौडेलले जानकारी दिए।

प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन्।

आयोगले प्रतिवेदन बुझाएपछि सात वटै प्रदेशमा पनि नयाँ सरकार गठनको बाटो खुल्नेछ।

आयोगले यसअघि प्रतिनिधिसभातर्फको अन्तिम निर्वाचन प्रतिवेदन गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतलाई बुझाइसकेको छ।