राजनीतिसमाचार

शपथपछि माधव नेपालले भने- यो गठबन्धन कायम रहन्छ

नेपालअखबार,  काठमाडाैं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन कायम रहने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा सदस्यको शपथपछि संवाददाताहरूसँग कुरा गर्दै नेपालले शक्ति बाँडफाँटका विषयमा गठबन्धनका दलहरू बसेर छलफल गर्ने बताए।

‘बीचमा कांग्रेस संसदीय दलको नेता पनि चुनिएको थिएन। म पनि बिरामी थिएँ। अहिले पनि बिरामी नै छु। तर आज वा भोलि हामी बसेर सरकार निर्माणबारे छलफल गर्छौं,’ नेपालले भने।

नेपालले राष्ट्रपतिमा दाबी गरेको भन्ने सन्दर्भमा उनले देशको आवश्यकताअनुसार भूमिका निर्वाह गर्ने बताए।

‘मैले राष्ट्रपति हुनलाई राजनीति गरेको भए त २०६४ र २०७२ सालमा नै राष्ट्रपति हुन अफर आएको हो तर मैले उमेर पुगेको छैन भनें,’ नेपालले भने,‘अब के गर्ने भन्नेबारे हामी गठबन्धनमा छलफल गर्छौं र देशले मलाई जहाँ आवश्यक देख्छ म त्यही भूमिका निर्वाह गर्न तयार छु।’

नेपाल केही दिनअघि छातीमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। उनी आज अस्पतालबाट डिस्चार्ज नभइकनै शपथ लिन बानेश्वर गएका हुन्। संसदमा एकीकृत समाजवादीका १० सांसद छन्।

the authoradmin