प्रदेश प्रमुख पृथ्वीमानले भने कहिले सरकार गठनका लागि आह्वान गर्ने भन्ने विषयमा छलफलमै रहेको बताए । ‘म आन्तरिक छलफल र तयारीमै छु तर मिति तय भइसकेको छैन’, प्रदेश प्रमुख गुरुङले भने । प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेपछि संविधानको धारा १६८ बमोजिम सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ ।
१६८ को उपधारा १ बमोजिम गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नभएकाले उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने छन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गण्डकीमा पनि एमाले नेतृत्वमा सरकार बन्ने देखिएको छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद मिलेर गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना छ ।
६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ र माओवादी ८ सांसद मिल्दा सजिलै सरकार बन्न सक्थ्यो तर एमाले नेतृत्वमा माओवादी, राप्रपा गठबन्धन बन्दा ३२ जना सांसद हुने छन् । मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङ) एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
एमालेबाट मुख्यमन्त्री बन्न योजनाकै साथ खगराज संघबाट कास्की–१ (१)मा झरेका थिए । एमालेले खगराजलाई आइतबार सर्वसम्मत दलको नेता बनाइसकेको छ । अधिकारीले तत्काल सरकार गठनका लागि आह्वान गर्नुपर्ने र अब बिलम्ब गर्न नहुने बताए । ‘सरकार गठनको लागि आह्वान भएसँगै मुख्यमन्त्री बन्ने प्रक्रिया सुरु गर्छु’, उनले भने, ‘शीर्ष नेताहरुले प्रदेशको टुंगो पनि लगाइसकेका छैनन् ।’
नेपाली कांग्रेसको बुधबार संसदीय दलको नेता चुन्दै छ । गोरखामा प्रचण्डकै क्षेत्रबाट मुख्यमन्त्री बन्ने योजनाका लागि प्रदेशमा उठेर चुनाव जितेका सुरेन्द्र पाण्डे मुख्यमन्त्रीका आकांक्षी थिए ।
त्यो सम्भावना नदेखिएपछि अब प्रतिपक्षमा रहेर रचनात्मक भूमिका खेल्ने पाण्डेले बताइसकेका छन् । तर, पाण्डे अहिलेसम्म दलकै नेता बन्न सर्वसम्मत हुने सम्भावना भने देखिएको छैन । उनकै विचार समूहका मन्त्री विन्दुकुमार थापा, महेन्द्रध्वज जिसी र भोजराज अर्याल पनि आकांक्षी छन् । तर, कांग्रेस नेतृत्वमा तत्काल सरकार बन्ने सम्भावना नदेखिएकाले सर्वसम्मत गराउने कोशिस भइरहेको कांग्रेस गण्डकीका उपाध्यक्ष मेखलाल श्रेष्ठले बताए ।
माओवादीको पनि संसदीय दलको निर्वाचन भइसकेको छैन । दलको नेतामा आफू निर्विकल्प भएको पूर्व मन्त्रीसमेत रहेको हरिबहादुर चुमानले आफू निर्विकल्प रहेको बताउँछन् ।
हेर्नुहोस् पत्र :
