नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गते तय भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ गते सोमबारका लागि प्रदेश अधिवेशन बोलाएका हुन् ।
गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई बुधबार शपथ खुवाउने र बिहीबार बस्यालले अरु सांसदलाई शपथ खुवाउने कार्यक्रम तय भइसकेको छ । पर्वतबाट चुनाव जितेका एमालेका बस्यालले बुधबार प्रदेश प्रमुखबाट सपथ लिनेछन् । त्यसको भोलिपल्टै अरु सांसदलाई शपथ खुवाउने कार्यक्रम छ ।
बस्यालकै अध्यक्षमा १८ गतेको बैठक बस्ने छ । प्रदेश सभा अधिवेशन सुरु भएलगत्तै प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका छन् ।
‘१८ गतेबाट अधिवेशन सुरु हुन्छ । त्यसलगत्तै सरकार गठनको लागि आह्वान गर्ने तयारीमा प्रदेश प्रमुख छन्’, प्रदेश प्रमुख स्रोतले भन्यो, ‘नयाँ सरकार गठनका लागि २० गते कट्दैन ।’