खेलकुदसमाचार

मैत्रीपुर्ण फुटबल खेलमा स्पेनको काथेरेन्यो क्लब विजयी

नेपालअखबार, पोखरा । पोखरा रंगशालामा आज (बुधबार) भएको मैत्रीपुर्ण फुटबल खेलमा घरेलु टीम गण्डकी ११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लवले गण्डकी ११ लाई ३–० गोल अन्तरले पराजित गरी विजयी भएको हो ।

काथेरेन्योको जितमा कार्मीलो, मिचेल र बेर्मुले एक एक गोलको योगदान दिए ।

काथेरेन्योले पहिलो हाफमा गण्डकी ११ माथि २—० को अग्रता कायम गरेको थियो । पहिलो हाप देखि खेलमा निकै हावी भएको काथेरेन्यो क्लबले पाएका केही अवसर खेर समेत गएका थिए । डिवक्स भित्रबाट उत्कृष्ट गोल गरी अग्रता दिलाएका कार्मीलो गोल भएको केही मिनेटमै स्पेनका पुर्व राष्ट्रिय खेलाडी भेट्रान मिचेल डिबक्स भित्र बाट सुन्दर गोल गर्दै गोल संख्या दोब्बर बनाएका थिए । गण्डकी ११ ले शुरुवात देखि नै रक्षात्मक खेल खेलेको थियो । दोस्रो हाफमा गण्डकी ११ ले केहि खेल सुधारिएको प्रस्तुतः गर्न खोजे पनि स्कोर भने निकाल्न सकेन । गण्डकीका जय गुरुङले प्रहार गरेका वल पोष्ट माथिबाट बाहिरएको थियो भने गण्डकीले खासै पोष्टचार्ज गर्ने अवसर पाउन सकेन ।

काथेरेन्यो क्लबका प्रशिक्षक जुलियो कोभोसले दुबै टिमले राम्रो खेलेको बताउदै नेपालको खेल निकै फाष्ट हुने गरेको बताए । पुनः अवसर पाएमा नेपाल आउने इच्छा भएको उनले जनाए । नेपालीहरुको खेलाडीहरुले एयरवलको पक्ष कमजोरी भएको प्रशिक्षक कोभोसले बताए ।

गण्डकी ११ का प्रशिक्षक राजेन्द्र तामाङले विदेशी व्यवसायीक फुटवल टिमसंग आफ्नै मैदानमा खेल्न पाउनु खुसिको कुरा भएको बताए । स्पेनजस्तो देशको खेलमा छोटो समयमा तयार पारेको गण्डकीले सन्तोसजनक खेल खेलेको उनले जनाए । गण्डकीका कप्तान अनिल गुरुङले शारीरिक तथा टेक्निकल रुपमा उनीहरु भन्दा आफुहरु कमजोर भएको बताए । स्पेनको बी डिभिजनको क्लवसंग आफुहरु खेल्दा युवा खेलाडीलाई प्रोत्साहन हुने नेपाली टिमका पूर्व कप्तान समेत रहेका गुरुङले बताए । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ समेत गण्डकी ११ को टिमबाट मैदानमा उत्र्रिएका थिए । नेपाली खेलाडीहरुले स्पेनका खेलाडीहरुलाई ढाका टोपी लगाएर स्वागत गरेका थिए । उक्त अवसरमा वक्सिङका पूर्व खेलाडी गणेश भट्टराईले स्पानिस फुटवल क्लवका उपाध्यक्ष रोचालाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।

यस अघि उक्त प्रतियोगिताको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले रेफ्रिलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले स्पेन जस्ता देशका खेलाडीहरु नेपाल आउनु नेपालको खेलकुदमा यसले छुट्टै सम्भावना र विकास गराउन मद्धत पुग्ने बताए । राज्यले खेलकुदमा धेरै लगानी गर्न नसकेको बताउदै उनले नेपालको खेलकुदको विकासमा निजी र खेल संघ तथा राज्यको सहकार्य र विभिन्न संघ संस्थाको समन्वयन हुन आवश्यक भएको बताए । राजनीतिक दलका नेताले पनि अब खेलकुद बुझ्नु पर्ने समय आएको अध्यक्ष तिमिल्सिनाले जनाए । कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा, कृषि मन्त्री चन्द्र बहादुर बुढा, सांसद खगराज अधिकारी लगायतको सहभागिता रहेको थियो ।

लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष जोसे म्यानुयलले बुद्धको जन्म भुमि नेपालमा आएर फुटबल खेल्दै खेलको माध्यमबाट शान्तिको सन्देश प्रवाह गर्न पाउँदा खुसी लागेको बताए ।

काथेरेन्यो क्लबका अध्यक्ष कार्लोसले स्पेनको बि डिभिजनको माथिल्लो स्तरको क्लब भएको दाबी गर्दै अब ए डिभिजनको लागि तयारी गरेको जनाए । कास्की जिल्ला फुटवल संघको सहकार्यमा उक्त खेल पोखरामा भएको हो । भोलि विहिबार काठमाण्ठौं ११ संग स्पेनको टोलीले मैत्रिपुर्ण खेल लेन्ने भएको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए ।

the authoradmin