Sunday, April 19

आत्मनिर्भर बनाउन युवालाई गाउँमै तालिम

मोहसिन अलि मियाँ
गोरखा । गण्डकी गाउँपालिका ६ भुम्लिचोकका दिनेश चेपाङ उमेरले २१ बर्ष लागे । गाउँभरीका युवा विदेशीने क्रम बढेसंगै केहि समययता उनलाई घर र आफन्तको पनि दवाव बढ्दै थियो ।

गाउँमै बसेर केहि गर्ने सोच नभएपनि हातमा सीप नभएकाले के गर्ने भन्ने अन्योलता थियो । परिवारको आर्थिक समस्याका कारण गाउँबाट बाहिर गएर सीप सिक्न असमर्थ रहेका चेपाङ बुधबार गाउँकै एक कार्यक्रममा भन्दै थिए ‘जिवनमा केहि गर्न सक्दिन कि भन्ने चिन्ता थियो, अब आशा पलाएको छ ।’

Advertisement

गाउँका धेरैजसो साथीभाई पैसा कमाउन भन्दै विदेशिएका छन् । तर अवसर पाए आफ्नै गाउँमा केहि गर्न सक्ने सपना बुनेका चेपाङले सम्भावनाको ढोका खुलेको बताउछन् ।

हाउस वाइरिङ तालिमको प्रमाणपत्र लिदै उनले भने ‘अब म गाउँमै बसेर काम गर्छु, हातमा एउटा सीप भयो, आफुले सिकेको सीपको सदुपयोग यहि गर्छु ।’ उनीसंगै गाउँका अन्य ३ जनाले समेत ४५ दिने हाउस वाइरिङको तालिम लिएका थिए ।

त्यस्तै सोही स्थानकी एनिका गुरुङ पनि हर्षित छिन् । ब्यूटिपार्लरको डेढ महिने बेसिक कोर्स गरेकी गुरुङको समेत गाउँमै पार्लर खोल्ने योजना छ ।

‘अहिलेसम्म सीप थिएन, अब सिक्यौ, केहि कुरा जान्यौ पनि’ उनले भनिन् ‘गाउँमा ब्यूटिपार्लर पनि छैन, यहि पसल खोल्ने योजनामा छु ।’ तर ४५ दिने प्रशिक्षण लिएका उनिहरु यतिले मात्रै पूर्ण नभएकोले थप तालिमको खोजीमा रहेको बताउछन् ।

‘बल्ल सपनाको ढोका खुलेको छ, यति तालिमले पुगेन’ गुरुङले भनिन् ‘ब्यवसायिक बनेर परिवार पाल्ने आँट आउछ तर अवसर र स्रोत जुटाइदिने कोहि भएनन् ।’

उनिसंगै भुम्लिचोकका ७ जनाले पार्लर तालिम लिएका हुन् । डेढ महिनामा उनिहरुलाई थ्रेडिङ, मेकअप, स्टेट, हेयर स्टाइल, मसाज, क्लिजिङ, हेयर कटिङ लगायतका सीप सिकाइएको प्रशिक्षक पूजा गुरुङले बताइन् ।

डिसिए नामक अन्तराष्ट्रिय संस्थाको सहयोगमा एकिकरण नेपालले उनिहरुलाई तालिम दिएको हो । चेपाङ र मगर समुदायको बाहुल्यता रहेको भुम्लिचोकका युवाहरुलाई आत्मर्भिर बनाउदै गाउँमै स्वःरोजगारको अवसर सृजना गर्न तालिम दिइएको कार्यक्रम संयोजक चन्द्र देवकोटाले बताए ।

तालिमका सहभागीहरुलाई बुधबार एक कार्यक्रम गरी प्रमाणपत्र र आवस्यक सामग्री समेत वितरण गरिएको उनको भनाई छ । संस्थाका अध्यक्ष कृष्ण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष अधिकारीले ब्यवसायिक रुपमा अघि बढ्ने चाहाना राख्ने युवाहरु अवसरबाट बञ्चित हुनुनपर्ने बताईन ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धिताल, खाद्य तथा पोषण सुधार आयोजनाका प्रमुख दुर्गा प्रसाद पण्डित, शहिद लखन गाउँपालिका ७ का वडाध्यक्ष शरण श्रेष्ठ, गण्डकी २ की वडासदस्य सुशिला नेपाली लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *