प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

कस्मिर लडाईमा मारिएका अर्जुनको गाउँ गोरखाको रिप पुग्दा… (चार फोटो सहित)

मोहसिन अलि मियाँ
गोरखा ।
‘साह्रै मिजासिला थिए अर्जुन’ गहभरी आँशु बनाउदै ठूलीआमा नन्दकुमारी थापाले भनिन् ‘राम्ररी बस्नुस् है भन्दै १२ दिनअघि विदा भएर गएका, अहिले यस्तो खबर सुन्नुप¥यो ।’ गोरखा नगरपालिका ५ रिप ढाडगाउँका अर्जुन थापा जम्बु कस्मिरको लाइन अफ कन्ट्रोलको भिडन्तमा मारिएपछि अहिले उनको गाउँ शोकमा डुबेको छ ।

कैयौं सपना बोकेर ४ बर्षअघि भारतिय सेनामा भर्ती भएका थापा बुधबार कश्मिरमा गोली हानाहानमा मारिएका थिए । उनको मृत्युको खबरले सन्नटा छाएको रिप पुग्दा अर्जुनको घरमा ताला नलागेपनि ढोका भने खुल्ला थिएन । पल्लो घरमा छिमेकी जम्मा भएका थिए । तर बोल्ने हिम्मत कसैसंग थिएन ।

उमेरले भरखर २५ काटेका अर्जुनले बिहे पनि यसै साल गरेका थिए । ‘अस्ति भरखरै असार २२ गते दुलेगौंडाबाट दुलही ल्याएका’ ठूलिआमा नन्दकुमारीले सम्झिइन् ‘आमा नभएर होला, मलाई आमालाई जस्तै माया ग¥थ्यो, साह्रै हसिला बाबु ।’

असारमा बिहे गरेर गएका अर्जुन मंसिरमा एक महिना छुट्टी आएका थिए । छुट्टी सकेर पुस ५ गते गएका उनी अब कहिल्यै नआउने गरी विदा भएका छन् । ‘छुट्टी मिलाएर ३÷४ महिनामै आउछु भनेको थियो’ उमेरले उस्तै रहेका भतिज पर्ने वासुदेव थापाले भने ‘एक्कासी यस्तो खबर सुन्दा आकाशले चेपे झै भयो, कसरी सहने ?’

भारतिय सेनाबाट बुधबार बिहान करिब ११ बजे उनको मृत्युको खबर आएको थियो । ‘हामी त खाना खाएर बसेका थियौ, अंकलको घरमा एक्कासी रुवावासी चल्यो’ छेवैमा घरमा भएका वासुदेवले भने ‘बुझ्न जादा यस्तो अपत्यारिलो खबर सुन्नुप¥यो ।’

अर्जुनको शव काकडभित्ता ल्याउने तयारी रहेकाले तत्काल आउन भारतिय सेनाले आग्रह गरेपछि बुवा प्रेमबहादुर थापा बुहारी सहित केहि आफन्तलाई लिएर बुधबार बेलुका ५ बजे घरबाट निस्किएका थिए । हाल उनको परिवार काकडभित्ता पुगिसकेको बताइएको छ ।

दाजुभाईको नाममा एउटै रहेको अर्जुनको समेत मृत्युको खबरले घरमा रहेकी उनकी दिदि प्रमिला पनि बोल्न सक्ने अवस्थामा थिइनन् । गोठमा बाँधिएको गाईलाई छिमेकीले नै घाँस कुँडो गरिदिएका छन् । परिवार स्रोतका अनुसार मङ्गलबार मात्रै उनले श्रीमतीसंग फोन र अनलाइनमा कुराकानी गरेका थिए ।

भर्खरै विवाह गरेका अर्जुनले श्रीमतीसँग अनलाइनमा कुरा गर्दागर्दै गोलीको आवाज आएको बताएका थिए । त्यसपछि अर्जुनको फोन स्विच अफसंगै म्यासेन्जरमा समेत अफलाइन देखाएको थियो । उक्त घटनामा भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि ज्यान गएको बताइएको छ ।

तस्विरहरु ः मोहसिन अलि मियाँ/सिभिलखबर

the authoradmin

Leave a Reply