प्रदेश ४राजनीतिहाइलाइट-समाचार

नारायणकाजी श्रेष्ठलाई प्रश्‍न : उमेदवारी अर्थमन्त्री बन्‍न हो ?

०७४ प्रतिनिधीसभाको निर्वाचनमा पराजय भइसकेपछि पाँच वर्षे कार्यकालमा फेरि संसद नछिर्ने बताउँदै आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको लागि अन्य सदस्य पदमा उमेदवारी दिए । उनको उमेदवारीलाई भावी अर्थमन्त्रीको रुपमा लिइएको चर्चा नेकपा वृत्तमा नै हुने गरेको छ ।

सचिवालय सदस्य समेत रहेका श्रेष्ठले उमेदवारी दर्ता गरेपछि प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा गए । त्यहाँ उनलाई पत्रकारले प्रश्‍न सोधे, “अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि तपाई अर्थमन्त्री बन्‍ने भनेर उमेदवारी दिनु भएको हो ?”

घुमाउरो तरिकाले जवाफ दिँदै श्रेष्ठले भने, “आज मनोनयन मात्रै गरिएको हो, के बन्‍ने हो भनेर सोचेर अगाडि बढ्ने होइन्, पार्टीले दिएको भूमिका अनुसार उमेदवारी दिइयो, मतदाताले मत दिए राष्ट्रियसभा सदस्य हुने भइयो । त्यसपछि राष्ट्रियसभा सदस्य भएपछि त्यो पनि भूमिका निर्वाह गर्ने भन्‍ने हो ।”

उनले पार्टीले भनेको खण्डमा अर्थमन्त्री बन्‍न पनि सकिने संकेत गरे । आफ्नो उमेदवारीको विषयमा पनि उनले पार्टीकै चाहनाबमोजिम दिएको भन्‍ने जवाफ दिए । 

वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभा सदस्यमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका थिए । राष्ट्रियसभा सदस्यको कार्यकाल गोलाप्रथाबाट गरिन्छ । यसरी गोला तान्दा अर्थमन्त्री डा. खतिवडाले दुई वर्षे कार्यकालको गोला तानेका थिए । जुन कार्यकाल फागुन पहिलो साताभित्रै सकिँदैछ र सरकारले रिक्त पदको लागि माघ ९ गतेलाई राष्ट्रियसभा निर्वाचनको मिति तोकेको छ ।

यो निर्वाचनको लागि डा. खतिवडालाई उमेदवार बनाइएको छैन । ९ माघमा राष्ट्रियसभाका १८ जना सदस्यको मात्रै निर्वाचन हुनेछ । १ जना सदस्य फेरि पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्नेछन् । तर, यस्तो नियुक्तिका लागि पनि डा. खतिवडा पर्ने सम्भावना छैन । राष्ट्रपतिले नियुक्त गरेको व्यक्ति लगत्तै अर्काे कार्यकालको लागि फेरि नियुक्त गर्न कानुनी अवरोध सिर्जना हुन्छ ।

तर, सांसद नभएपनि डा. खतिवडाले अरु ६ महिना मन्त्री बन्न कानुनी रुपमा भने पाउने छन् । श्रेष्ठ राष्ट्रियसभाको उम्मेदवार बन्‍नुको चाहनालाई पनि फागुनभित्रै रिक्त हुने अर्थमन्त्रीको विकल्पको रुपमा चर्चा हुने गरेको छ । तर, उनले आफ्नो उमेदवारी चाहिँ नेकपाका अध्यक्षद्वयको चाहनाको साथसाथै, बिनाशर्त पार्टीले देखेको आवश्यकता अनुसारको भूमिका निर्वाह गर्नको लागि रहेको बताए । 

“जसरी अहिले पार्टीको निर्देशन अनुसार भूमिका निर्वाह गरियो, आगामी दिनमा पनि पार्टीले जुन भूमिका निर्वाह गर्न निर्देशन दिन्छ, त्यहीअनुसार अगाडि बढ्ने कुरा हो । व्यक्तिगत रुपमा कुनै इच्छा रहँदैन, हुन पनि हुँदैन ।” उनले थपे, “पार्टीले जे आवश्यक निर्णय दिन्छ, देश र जनताको हितमा समर्पित हुने आफ्नो स्प्रिट अनुसार नै हुन्छ भने त्यही अनुसार भूमिका निभाउने हो ।”

तत्कालीन सभामुख कृष्णबहादुर महरा अहिले जेलमा छन् । यौनकाण्डमा मुछिएपछि उनको पद गएको छ । प्रतिनिधीसभा सदन सभामुखविहीन छ । यसअघि डाकिएको बैठक सभामुख चयनमा ढिलाई भएकै कारण ११ दिनलाई सरेको छ ।

संविधानतः सभामुख दुई फरक पार्टी र लिङ्गको हुनुपर्ने व्यवस्था कारण नेकपा अलमलमै छ । सभामुख अन्य दललाई नदिने र एकीकरण पूर्वका दुई दल (एमाले र माओवादी केन्द्र) ले आ–आफूमा नै अड्को थापेका कारण सभामुख चयनमा ढिलाई भएको छ ।

‘सभामुख कहिले ?’ भन्‍ने  प्रश्नमा श्रेष्ठले भने, “सभामुख हाम्रो पार्टीले नै तोक्नेछ, अर्को सदन चल्ने सेरोफेरोमा नै निर्णय हुनेछ । उपसभामुखले राजीनामा दिएपछि बल्ल हाम्रो पार्टीको भागमा सभामुख आउँछ । त्यसकारण उपसभामुखले राजीनामा दिनुहुनेछ, विश्वास छ । त्यसपछि सभामुखमा संविधानसम्मत ढंगले हाम्रो पार्टीले दाबी गर्न मिल्नेछ, त्यो बेलामा हाम्रो पार्टीले उपयुक्त सभामुख चयन गर्नेछ ।”

खबर १२खरी डटकममा छ ।

the authoradmin

Leave a Reply