
नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादी वाग्मती प्रदेशको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । पार्टीका उपाध्यक्ष एवं वाग्मती प्रदेश इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो ।
विहीबार सम्पन्न बैठकमा प्रमुख अतिथि न्यौपानेले वर्तमान राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिको विश्लेषण सहित महत्वपूर्ण निर्देशन दिनुभएको थियो भने पार्टीका सचिवालय सदस्य घनश्याम भुसालले निर्देशनात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बैठकले वाग्मती प्रदेश अन्तर्गतका १३ वटा जिल्लाका इञ्चार्ज सह इञ्चार्ज अध्यक्ष र सचिवले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समिक्षा सहित जिल्लाको रिर्पोट पेश गरेको थियो । बैठकले माघ १५ गते भित्र सबै जिल्ला र प्रदेशले पार्टी स्कुल विभाग गठन गरिसक्नु पर्ने, फागुन र चैत्र मसान्त भित्र सबै जनवर्गीय संगठन पेशागत र सामुदायीक संगठनको जिल्ला र प्रदेश सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ । जस्को लागि माघ १५ गते भित्र सवै जिल्ला र प्रदेश कमिटीहरु अद्यावधिक गर्ने , फागुन मसान्त भित्र सबै स्थानीय तहका कमिटीहरु अद्यावधिक गर्ने र सङ्गठित सदस्यता अद्यावधिक गरी वाग्मती प्रदेश कमिटीमा पठाई सक्ने निर्णय गरेको छ ।

यस्तै बैठकले २०८० को जेठ महिनामा सबै जिल्ला अधिवेशन र कार्तिकमा प्रदेश अधिवेशन गर्ने साथै पार्टीको कामको प्रभावकारी अनुगमनको लागि जिम्मेवारी समेत तोकेको छ । जसमा चितवन र मकवानपुरमा केदार न्यौपाने, काठमाडौं ललितपुर र भक्तपुरमा जिवनराम श्रेष्ठ,सिन्धुली र चितवनमा कृष्ण खनाल, रसुवा नुवाकोट र धादिङमा सावित्रा भुसाल , सिन्धुपाल्चोक दोलखा र रामेछापमा विदुर सापकोटा र लक्ष्मण लम्साल र काभ्रेपाल्चोक जिल्लामा टोकबहादुर वाइवालाई जिम्मेवारी तोकिएको छ ।
बैठकले समसामयीक राजनैतिक परिस्थिति र हाम्रा कार्यभार सम्बन्धमा अभिमुखीकरण गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको बाग्मती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालले बताउनु भयो ।

