प्रशासनसमाचार

घरेलु हिंसाको उजुरी सुनुवाई तथा मेलमिलाप सिप विकास सम्बन्धी गोष्ठी सम्पन्न

नेपालअखबार, पोखरा । समाजमा विद्यमान घरेलु हिंसा न्युनिकरणका लागि घरेलु हिंसा ९कसूर र सजाय ऐन २०६६ र नियमावली २०६७ को कार्यान्वयनमा एकरुपता र थप प्रभावकारीता ल्याउने उद्देश्यका साथ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा मातहतका जिल्ला तथा ईलाका प्रहरी कार्यालयहरुका महिला बालबालिका र जेष्ठ नागरीक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुसंग “घरेलु हिंसाको उजूरी सुनुवाई तथा मेलमिलाप सिप विकास” सम्वन्धी १ दिने गोष्ठी तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
उक्त गोष्ठी गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव  महानिरीक्षक बुद्धिराज गुरुङको प्रमुख आतिथ्यता सञ्चालन गरीएको थियो । कार्यक्रम उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङले गोष्ठीले घरेलु हिंसाजन्य घटनाको मेलमिलाप गराउने प्रक्रिया सम्बन्धी अनुभव आदान प्रदान गरी कानुनी सम्बनधी नविनतम आयामहरुको सिकाईबाट कार्य प्रभावकारीता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
घरेलु हिंसाको मेलमिलाप गर्ने प्रक्रियामा पिडितका सम्पुर्ण पिडाहरुलाई प्रहरीले सुनिदिनुपर्ने र पिडितलाई संरक्षण गरी परम्परागत मेलमिलाप सम्बन्धी तौरतरिकामा परिवर्तन गरी पक्षहरु बिचको विवाद समाधानको स्थायी विकल्पहरु पहिचान गरी परामर्श प्रदान गर्नुपर्ने बताउनुभयो ।
यसका साथै प्रहरी मायव महानिरीक्षक गुरुङले सत्यतथ्य छानबिन गरी पिडितलाई न्याय दिलाउन सके मात्र प्रहरीलाई अनुसन्धानको श्रेय मिल्ने र प्रहरी संगठन प्रति विश्वासको वातावरण सिर्जना हुने समेत बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले गोष्ठीमा सहभागीहरुलाई गण्डकी प्रदेशमा घरेलु हिंसाको अवस्था र यसको नियन्त्रणका लागी गरीरहेको प्रयासका बिषयमा जानकारी गराउनु भएको थियो । उद्घाटन कार्यक्रम पश्चात सहभागीहरुलाई समाजमा भईरहेका विविध घरेलु हिंसा, उजुरी लिदा प्रहरीले ध्यान दिनुपर्ने कुराहरु, अनुसन्धान, पिडितको संरक्षण, मेलमिलाप र संचार सिप तथा अभियोजनका विषयमा जानकारी गराईएको थियो ।
उक्त गोष्ठीमा गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयको महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र र ठाडो उजूरी तथा सुनुवाई शाखामा कार्यरत ४० जना प्रहरी कर्मचारीहरुको सहभागितारहेको थियो ।

the authoradmin