
नेपालअखबार, काठमाडाैं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले १ सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष नेपालले महिला हक, अधिकार स्थापित गर्न तथा महिला सशक्तिकरण र समानताका लागि जीवन समर्पण गर्नुहुने सम्पुर्ण महिला योद्धाहरूमा हार्दिक सम्मान व्यक्त गरेकाछन् ।
महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको नेपालले बताएका छन् । महिला श्रमिकमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिएको छ ।
नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनहरुमा महिलाहरूको निर्णायक सहभागिता र र नेतृत्व रहिआएको छ । महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधान र कानुनमार्फत आधारभूत व्यवस्थाहरू गरी त्यसलाई अभ्यासमा ल्याएका छौँ । फलतः मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व वृद्धि हुनुका साथै महिला सशक्तीकरणमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष नेपालले बताए ।
यद्यपी अहिले पनि विभिन्न रूपमा महिलाहरु आर्थिक, सामाजिक शोषण र भेदभावपूर्ण व्यवहारको सिकार भइरहेका छन् । चेलीबेटी बेचबिखन, बलात्कार, हत्या, घरेलु हिंसा र सामाजिक कुरीतिहरुलाई हटाएर सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार स्थापित गर्न आजको दिनले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै पुन: शुभकामना व्यक्त गरेका छन् ।

