राजनीतिसमाचार

माओवादी धारका दलहरूको बैठक सकियो, दबाबमूलक कार्यक्रम घोषणा हुँदै

नेपालअखबार, काठमाडौँ । माओवादी धाराका दलहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ ।

बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । एक संयुक्त अपिल जारी गर्दै सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको बैठकमा सहभागी नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाले जानकारी दिए ।

फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते अन्तरक्रिया गर्ने दलहरूको तयारी छ । अन्तिम दिन प्रदर्शन गर्ने भनिए पनि मिति तय नभएको उनले बताए ।

बैठकमा माओवादी केन्द्र, नेसपा, नेकपा माओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका शीर्ष नेताहरू सहभागी थिए।

प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू निरन्तर छलफलमा छन् । यसअघि माओवादी धारका दलको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

यसबीचमा बिहीबार सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ।

the authoradmin