प्रदेश ४समाचारस्वास्थ्यहाइलाइट-समाचार

गोरखामा औषधी सेवन गरेर गर्भपतन गराउने बढे

गोरखा । जिल्लामा पछिल्लो समय औषधी सेवन गरेर गर्भपतन गराउनेको संख्या बढेको तथ्यांकले देखाएको छ ।

पछिल्लो तिन बर्षको तथ्यांकलाई केलाउदा औषधी प्रयोग गरेर गर्भपतन गराउनेको संख्यामा बृद्धि हुदै गएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

आर्थिक बर्ष २०७३/७४ मा ५ सय ८७ जनाले औषधी सेवन गरेर गर्भपतन गराएका थिए भने ७४/७५ मा सो संख्या बढेर ९ सय ९ पुग्यो ।

त्यस्तै ७५/७६ मा केहि घटेर ७ सय ६७ मा आयो । तर यस आर्थिक बर्ष २०७६/७७ को साउनदेखि कार्तिकसम्म ४ महिनामा मात्रै २ सय ५२ जनाले औषधी मार्फत गर्भपत गराएको तथ्यांकमा उल्लेख छ ।

जबकी अघिल्लो अर्थिक बर्ष साउनदेखि कार्तिकसम्म २ सय ३६ ले मात्रै औषधी सेवन गरेको रेकर्ड रहेको स्वास्थ्य कार्यालयका परिवार नियोजन निरिक्षक विरबहादुर श्रेष्ठले जानकारी दिए ।

यो तथ्यांक स्वास्थ्य कार्यालयमा सुरक्षित गर्भतनका लागि सुचिकृत भएका सरकारी २२ र मेरी स्टोप गरी २३ स्वास्थ्य संस्थाको रहेको उनले बताए । ‘पछिल्लो समय अरु साधनभन्दा औषधीको प्रयोग गरेर गर्भपत गराउने बढेको देखिन्छ’ उनले भने ‘यो हामीकहाँ सुचिकृत भएका संस्थाहरुमा गरिएको मात्रै रेकर्ड हो ।’

पछिल्लो समय ११ वटै स्थानीय तहमा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएकाले औषधी प्रयोग गर्नेको संख्या बढेको उनको भनाई छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ अनुसार स्वास्थ्य कार्यालयमा सुचिकृत नभई गर्भपतन गराउन नपाइने उल्लेख छ ।

सोही अनुसार दक्ष जनशक्ति सहित जिल्लामा २३ स्वास्थ्य संस्था कार्यालयमा सुचिकृत रहेको श्रेष्ठको भनाई छ । तर जिल्ला सदरमुकाम सहित बिभिन्न स्थानमा सञ्चालित औषधी पसलले अनाधिकृत रुपमा औषधी विक्रि गर्दै असुरक्षित गर्भपतन गराउदै समेत आएका छन् ।

स्वास्थ्य कार्यालय गोरखाको आयोजना तथा नेपाल पत्रकार महासंघ गोरखाको समन्वय र आइपास नेपालको सहयोग भएको सुरक्षित गर्भपतन प्रजनन स्वास्थ्यको सुदृढिकरणका लागि सञ्चारकर्मीसंगको छलफल कार्यक्रममा औजार प्रयोग गरेर गर्भपतन गर्नेको संख्या भने घटेको तथ्यांक सार्वजानिक भएको छ ।

७३/७४ मा ३ सय २९ गते औजार उपकरण प्रयोग गर्दा ७४/७५ मा २ सय ७१ र ७५/७६ मा सो संख्या घटेर १ सय ११ मा झरेको थियो । त्यस्तै साउनदेखि कार्तिकसम्ममा ३५ जनाले मात्रै औजारको प्रयोग गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य कार्यालयका प्रमुख विद्या तामाङको अध्यक्षतामा भएको छलफल कार्यक्रममा आइपास नेपालका रामचन्द्र खनाल, थमकुमारी कुवँर, सुजता कार्कीले सुरक्षित गर्भपतन, प्रजनन स्वास्थ्य, यसको अवस्था, चुनौती र रोकथाम लगायतका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

the authoradmin

Leave a Reply