Saturday, May 30

भोटका लागि अपिल गर्दै उपराष्ट्रपतिका उम्मेदवार रामसहायले शीर्ष नेतालाई भेट्ने

नेपालअखबार, काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहाय प्रसाद यादवले आज शीर्ष नेताहरूलाई भेटेर भोट माग्ने भएका छन्।

संघीय र प्रदेश सभाका ८ सय ८५ सांसदलाई यसअघि नै मोबाइलमार्फत भोटका लागि अपिल गरिसकेका यादवले सोमबार प्रमुख दलका शीर्ष नेताले भेटेरै भोट माग्ने भएका हुन्।

Advertisement

यस क्रममा सोमबार बिहान ९ बजे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर भोट माग्ने कार्यक्रम तय भएको जसपा नेता प्रदीप यादवले जानकारी दिए।

नेता यादवका अनुसार आज साँझसम्ममा जसपाबाटै उम्मेदवारी दिएकी सांसद प्रमिला कुमारी यादवले उम्मेदवार फिर्ता लिनेछिन्।

आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली आइतबार नै प्रकाशन गरिसकेको छ।

उपराष्ट्रपतिका लागि ४ जनाले उम्मेदवारी दिएकोमा निर्धारित समयसम्म कसैले पनि फिर्ता नलिएपछि गठबन्धन दलबाट ३ र नेकपा एमालेबाट एक जनाको उम्मेदवारी सदर भएको छ।

गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवसँगै प्रमिला कुमारी यादवले उम्मेदवारी दिएका छन्।

यस्तै सत्तामै रहेको अर्को दल जनमत पार्टीका तर्फबाट ममता झाले पनि उम्मेदवारी दर्ता गराएकी छन्।

नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् ।