Friday, July 10

विधान अधिवेशन गर्न जसपाले बनायो मस्यौदा, सातै प्रदेशमा छलफल हुने

नेपालअखबार, काठमाडाैं । जनता समाजवादी पार्टीले आफ्नो विधान मस्यौदा तयार गरेको छ।

Advertisement

गत पुस १८ र १९ गते बसेको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन गर्ने निर्णय गरेको थियो। सोही अधिवेशनका लागि विधान तयार गर्न पार्टीले अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा मस्यौदा समिति बनाएको थियो।

Advertisement
Advertisement

समितिले विभिन्न सरोकारवालासँग छलफल गरेर मस्यौदा तयार गरेको जसपाका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले बताए।

Advertisement

‘समितिको बैठक बसेर पार्टीका मातहत निकायलाई मस्यौदा पठाइएको छ, मस्यौदामाथि अध्ययन, छलफल र विश्लेषण गरी यही चैत १५ गतेसम्म आवश्यक सुझाव पठाउनका लागि हामीले निर्देशन दिएका छौँ,’ उनले भने।

मस्यौदा केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समिति, केन्द्रीय समिति, सङ्घीय परिषद्, प्रदेश समिति, विशेष प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र जिल्ला समन्वय समितिका सदस्यका साथसाथै जनवर्गीय सङ्गठनका सदस्यलाई समेत आवश्यक सुझावका लागि पठाइएको छ।

जसपाले विधानको प्रारम्भिक मस्यौदामाथि अध्ययन छलफल गर्न ७ वटै प्रदेशमा कार्यक्रम गर्नसमेत निर्देशन दिएको छ।

विधान मस्यौदासम्बन्धी सुझाव सङ्कलन गर्न आयोजना गरिने प्रदेशस्तरीय कार्यक्रममा मस्यौदा समितिका तर्फबाट सहभागी हुनका लागि नेताहरूको जिम्मेवारीसमेत तोकिएको छ।

कोसी प्रदेशका लागि कार्यकारिणी सदस्य रकम चेम्जोङ, मधेस प्रदेशका लागि कार्यकारिणी सदस्य लालबाबु राउत, लुम्बिनी प्रदेशका लागि राजनीतिक समितिका सदस्य भगवती सुवेदी, गण्डकी प्रदेशका लागि कार्यकारिणी सदस्य शिवलाल थापा रहेका छन्।

बागमती प्रदेशका लागि मस्यौदा समितिका सदस्य दीपक राई, सुदूरपश्चिम प्रदेशका लागि मस्यौदा समितिका सदस्य दीपेन्द्र झा र जनवर्गीय, बौद्धिक पेसाकर्मी, विज्ञलगायतसँग छलफल गर्न कार्यकारिणी सदस्य सुशीला श्रेष्ठलाई जिम्मेवारी तोकिएको हो।