पर्यटनविदेशसमाचारहाइलाइट-समाचार

गोरखा नगर र रश्मोर काउन्सिलबीच भगिनी सम्बन्ध, राजदुतावासमा विशेष कार्यक्रम (भिडिओ सहित)

गाेरखा । बेलायतमा सबैभन्दा धेरै नेपालीहरुको बसोवास रहेको रश्मोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीचमा भगिनी सम्बन्ध स्थापना भएको छ ।

बेलायतस्थित नेपाली दूतावासको पहल र स्थानीय काउन्सिलसंगको सहकार्यमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र रश्मोर काउन्सिलका मेयर सु कार्टरले गत बिहीबार रश्मोर काउन्सिल भवनमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौतापत्रमा सांस्कृतिक, प्रजातान्त्रिक, प्राविधिक र शैक्षिक अवसरहरु एकअर्काबीच आदानप्रदान गर्ने सहमति भएको छ ।

यसैगरि दुवै निकायबीचमा भ्रमण, सामाजिक आर्थिक विकासमा हातेमालो, संयुक्त अनुसन्धान, विभिन्न परियोजना सञ्चालन, भौतिक पूर्वाधार निर्माण र सुशासनमा समेत सहयोग गर्दै अघि बढ्ने उल्लेख गरिएको छ ।

मेयर पन्तका साथमा नेपालबाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ र नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा भगिनी सम्बन्ध स्थापना कार्यक्रममा सहभागी हुन गत बुधबार बेलायतको रश्मोर पुगेका थिए ।

त्यस्तै रश्मोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको अवसरमा शुक्रबार सांझ लन्डनस्थित नेपाली दूतावासले एक विशेष कार्यक्रम गरेको छ ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले अतिथीहरुको स्वागत गर्दै ऐतिहासिक भगिनी सम्बन्धले दुई देशका जनताबीचको घनिष्ट सम्बन्ध हुने विश्वास व्यक्त गरेका छन् । बेलायत नेपाल सम्बन्ध अभिवृद्धि संगै ‘भ्रमण वर्ष २०२०’ अभियानमा नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने समेत राजदूत डा सुवेदीले विश्वास ब्यक्त गरे ।

सो अवसरमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गोर्खाहरुका कारण बेलायत नेपाल सम्बन्ध प्रगाढ र आत्मीय बनेको आडमा रश्मोरसंग भगिनी सम्बन्ध गांस्न पाएकामा कृतज्ञता व्यक्त गरे ।

मेयर पन्तले ‘गोरखा जाऔं’ अभियानबारे जानकारी दिंदै ऐतिहासिक, सांस्कृतिक धरोहर र सम्पदा भएको ऐतिहासिक जिल्ला गोर्खामा स्वागत गर्ने अवसर प्रदान गरिदिन बेलायतवासी नेपाली र बेलायती समक्ष अपिल गरे ।

हेर्नुस भिडिओभिडिओ साैजन्य : गुर्खा रेडियाे, बेलायत

the authoradmin

Leave a Reply