Monday, July 27

रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

नेपालअखबार, काठमाडाैं । पत्रकार कृष्णा ताम्राकारको निधन भएको छ।

Advertisement

अस्वस्थ भएपछि केहीदिनदेखि अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत ८६ वर्षकी उनको बिहीबार बेलुकी १० बजे निधन भएको हो।

Advertisement
Advertisement

उनी निमोनिया भएपछि अस्पताल भर्ना भएकी थिइन्।

Advertisement

उनले लामो समय रेडियो नेपालमा समाचार बाचनलगायत काम गरेकी थिइन्। उनले २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी थिइन्। उनले सुरूमा हिन्दी र पछि नेपाली भाषामा समाचार बाचन गरेकी थिइन्।

उनले करिब ६० वर्ष रेडियोमा काम गरेकी थिइन्। तर रेडियो नेपालबाट भने उनी २०४९ सालमा अवकाश लिएकी थिइन्। त्यसपछि पनि उनी सञ्चारकर्ममै सक्रिय थिइन्।

ताम्राकारको निधनको खबरले अत्यन्त दु:खी बनाएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

‘नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम- कृष्णा ताम्राकार। उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो। उहाँको निधनको खबरले अत्यन्त दु:खी छु। हार्दिक श्रद्धाञ्जली, शोकाकुल परिवारमा समवेदना,’ ओलीले भनेका छन्।

यस्तै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ताम्राकारको निधनले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्।

‘विशेष गरी समाचार बाचनमा वर्षौंदेखि सुनिँदै आएको कर्णप्रिय सशक्त आवाज- यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्। उहाँको निधनले स्तब्ध बनायो। भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल परिवारमा गहिरो समवेदना,’ खड्काले ट्वीट गरेका छन्।