Saturday, May 23

नेपाल कमर्स क्याम्पसमा अझै सुरु भएन मतदान

नेपालअखबार, काठमाडौँ । नेपाल कमर्स क्याम्पस मीनभवनमा मतदानमा ढिलाइ भएको छ । आज हुन लागेको स्ववियु निर्वाचनका लागि नयाँ मतदान अधिकृत तोकेर बिहान साढे ११ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । तर, अहिलेसम्म मतदान सुरु हुन सकेको छैन ।

निर्वाचन समितिले निर्वाचन समितिका सदस्य सचिव लाल बहादुर बस्नेतलाई निर्वाचन अधिकृत तोकेर मतदानको प्रक्रिया अगाडि बढाउने भनिए पनि अहिलेसम्म मतदान हुन नसकेको अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिका उम्मेदवार प्रविन गिरीले जानकारी दिए ।

Advertisement

यसअघिका निर्वाचन अधिकृत तुलसीराम रेग्मी सम्पर्कविहीन बनेका थिए । उनी सम्पर्कविहीन बनेपछि निर्वाचन समितिले बस्नेतलाई निर्वाचन अधिकृत बनाएको थियो । र बिहान साढे ११ बजेदेखि साढे ५ बजेसम्म मतदानको समय तोकिएको थियो । तर, के कति कारणले मतदानमा ढिलाइ भएको बारे निर्वाचन समितिले केही जानकारी दिएको छैन।

हिजो सर्वपक्षीय छलफलबाट आज बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान गर्ने निर्णय गरिएको थियो। तर, मतदानका लागि विद्यार्थीहरू क्याम्पसमा पुगे पनि निर्वाचन अधिकृत नै सम्पर्कविहीन बनेका थिए ।

नेविसंघले सर्वपक्षीय स्ववियुको माग गर्दै तालाबन्दी गरेपछि चैत ५ गते निर्वाचन हुन सकेको थिएन।