राजनीतिसमाचार

रविलाई जगन्नाथ पौडेलको समर्थन

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका विद्रोही नेता जगन्नाथ पौडेलले चितवन–२ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गर्ने भएका छन् । सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पौडेलले स्वतन्त्र पार्टीलाई सहयोग गर्दा देशले निकास पाउने जिकिर गरेका हुन् ।

पौडेलले भने, ‘यहाँ सबैको हात बाँधिएका छन् । तर म स्वतन्त्रता प्रेमी व्यक्ति हुँ । लामो समय आन्दोलनमै जीवन बित्यो । अब छोटो समयमा परिवर्तनको आवश्यकता छ । त्यो रूपान्तरणका लागि उपयुक्त टिमको आवश्यकता छ । त्यो टिममा ऊर्जावान् व्यक्तिको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीको समूह हो । उहाँहरूलाई सहयोग गर्दा देशले निकास पाउँछ ।’

‘पार्टी नै प्रवेश गर्न लाग्नुभएको हो ?’ भन्ने प्रश्नमा उनले तत्काललाई पार्टीलाई सहयोग गर्ने मात्र योजना रहेको स्पष्ट पारे । गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन हुन लागेको हो । लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।

the authoradmin