Sunday, May 10

स्तरोन्नति भएन थानकोट–चित्लाङ सडक खण्ड

नेपालअखबार, काठमाडाैं। काठमाडौंलाई हेटौंडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्र्याक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन।

काठमाडौंतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारी साधनको आवागमन हुने गरेकाले दुई किलोमिटरबाहेक अन्यत्र स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन।

Advertisement

बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको काठमाडौंस्थित सडक डिभिजन कार्यालयले जनाएको छ। काठमाडौंबाट जाने सडक ट्र्याक खुलेर कटिङमात्र गरिएको छ।

‘ठाउँ–ठाउँमा कहिलेकाहीँ मर्मत हुने गरेको भए पनि स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ। सडक डिभिजनसँग स्तरोन्नतिका लागि बजेट छैन’, कार्यालयका इञ्जिनियर नेत्र पौडेलले भने।

बल्खुबाट फर्पिङ हुँदै हेटौंडातर्फ निर्माण भइरहेको छ। यहाँ गाडीको चाप बढी हुँदा मर्मत गरिएका सडक पनि चाँडो बिग्रिरहेको उनको भनाइ थियो।

थानकोटबाट साढे दुई किमी कालोपत्र गरिएको छ। त्यहाँबाट छ किमी काठमाडौंसम्म सडक बिग्रिएको छ।

मोड बढी हुनाका साथै बाटोको ग्रेड पनि बढी भएकाले मर्मत गरिएका सडक बिग्रिरहेको जनाइएको छ।

चित्लाङको दुई किमी कालोपत्र भइरहेको छ। थानकोटतर्फ धेरै स्थानमा बाटो बिग्रिएकाले स्तरोन्नतिमा समस्या भइरहेको छ।

गत वर्ष चित्लाङ बजारबाट थानकोटतर्फको दुई किमी सडक कालोपत्रका लागि ठेक्का भएको थियो।

अहिले भइरहेको स्तरोन्नतिको काम चालु आवमा सकिने  इञ्जिनियर पौडेलले जानकारी दिए।

थानकोट–चित्लाङ सडकलाई गणेशमान सिंह मार्ग नामकरण गरिएको छ। मकवानपुरतर्फ पनि विभिन्न खण्डमा सडक मर्मत भइरहेको छ। रासस