Monday, April 20

प्रचण्डको प्रस्ताव– नेकपातिरै फर्कौं, फेरि एकताको पहल गरौं

नेपालअखबार, काठमाडाैं। प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ब्युँताउनुपर्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा एकीकृत समाजवादीले गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुनः नेकपातिर फर्कन आह्वान गरेका हुन्।

Advertisement

उनले देशको राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि एक हुन जरूरी रहेको बताउँदै एकताको प्रस्ताव गरेका हुन्।

‘आउनुस् बसौं सँगै, बिना आग्रह र पूर्वाग्रह समीक्षा गरौं। विचारधारात्मक रुपमा समीक्षा गरौं। राष्ट्रको हितमा एकता फेरि एउटा नयाँ पहल सुरु गरौं,’ उनले भने।

उनले कम्युनिष्ट आन्दालनको प्रभाव देशमा व्यापक विस्तारित भएको तर कम्युनिस्ट पार्टीहरु अलग हुँदा जनता र देशले अपेक्षा गरेको परिणाम दिन नसकेको बताउँदै फेरि एकतामा फर्किनुपर्ने बताए।

एमाले र माओवादीको एकतालाई कार्यकर्ताले मात्र होइन जनताले पनि अनुमोदन गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले बहस र आत्मसमीक्षा गर्दै एकतामा फर्किनुपर्ने बताए।

‘त्यसले मात्रै कम्युनिस्ट आन्दोलनप्रति इमानदार हुनसक्छौं,’ उनले भने।