राजनीतिविश्वसमाचार

विश्वका ठूला विवाद मिलाउने चिनियाँ प्रयास

नेपालअखबार, काठमाडौं । रुस-युक्रेन युद्ध अन्त्य गर्ने बताइरहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन् । रुस–युक्रेन युद्धमा केन्द्रित रहेको टेलिफोन वार्ताको अमेरिकाले स्वागत गरेको छ ।

गत महिना रूस भ्रमणका क्रममा राष्ट्रपति सीले भ्लादिमिर पुटिनसँग लामो कुराकानी गरेका थिए । चीन पछिल्लो समय विश्वका ठूला विवादहरू मध्यस्थतामार्फत समाधान गर्नतर्फ केन्द्रित छ । चिनियाँ पहलमा हालै रुसले साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित गरेको छ । चीन पछिल्लो समय इजरायल र प्यालेस्टाइनको विवादमा सहजीकरण प्रयासमा पनि केन्द्रित हुन थालेको छ ।

बुधबार बिहान सीको जेलेन्स्कीसँग गत वर्ष फेब्रुअरी २४ मा युद्ध सुरु भएपछि पहिलो कुराकानी भएको हो । उक्त टेलिफोनवार्तालाई बेइजिङ र कीभ दुवैले पुष्टि गरेका छन् ।

‘राष्ट्रपति सी चिनपिङसँग मेरो लामो र अर्थपूर्ण फोन वार्ता भएको छ’ वार्तापछि जेलेन्स्कीले ट्वीटरमा लेखेका छन्, ‘यो आह्वान र चीनका लागि युक्रेनका राजदूतको नियुक्तिले हाम्रो द्विपक्षीय सम्बन्धको विकासमा सशक्त गति दिनेछ भन्ने मलाई विश्वास छ ।’

जेलेन्स्कीका प्रवक्ता सर्गी नाइकीफोरोभले फेसबुकमा दुई नेताबीच करिब एक घण्टा लामो टेलिफोन संवाद भएको पुष्टि गरेका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार सीले जेलेन्स्कीलाई ‘वार्ता र वार्ता’ नै युद्धको ‘निकासको एक मात्र उपाय’ भएको बताएका थिए । ‘युक्रेन सङ्कटको विषयमा चीन जहिले पनि शान्तिको पक्षमा उभिएको छ र उसको मूल अडान शान्ति वार्तालाई बढावा दिनु हो,’ सिसिटिभीले भनेको छ ।

सिसिटिभीले चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गरी लेखेको छ, ‘चीनले न त अर्को तिरबाट वाण हान्नेछ , न त आगोमा इन्धन थप्नेछ, सङ्कटको फाइदा उठाउने कुरा चीनले कहिल्यै सोचेको छैन ।’

सीले भने, ‘आणविक मुद्दाको सामना गर्दा सम्बन्धित सबै पक्ष शान्त र संयमित रहनुपर्छ, आफ्नो र सम्पूर्ण मानवजातिको भविष्य र नियतिमा साँच्चिकै ध्यान केन्द्रित गर्नुपर्छ र संयुक्त रूपमा सङ्कटको व्यवस्थापन र नियन्त्रण गर्नुपर्छ ।’

विश्व नेता बन्ने चिनियाँ प्रयास

बेइजिङले द्वन्द्वमा आफू तटस्थ रहेको बताउँदै आएको छ भने रूसी आक्रमणको निन्दा गरेको छैन । जेलेन्स्कीले आफ्ना चिनियाँ समकक्षी सीसँग वार्ताका लागि आफू तयार रहेको बताउँदै आएका छन् ।

फेब्रुअरीमा बेइजिङले युक्रेनको सङ्कटको ‘राजनीतिक समाधान’ का लागि १२ बुँदे कार्यपत्र सार्वजनिक गरेको थियो ।

दस्तावेजमा चीनलाई तटस्थ पार्टीको रूपमा चित्रित गरिएको छ र दुवै पक्षलाई शान्ति वार्तामा प्रवेश गर्न आग्रह गरिएको छ । ‘सबै देशको सार्वभौमिकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतालाई प्रभावकारी रूपमा कायम राख्नुपर्छ’ भन्ने उक्त पत्रको पहिलो बुँदा थियो ।

तर मस्कोको सेनाले आफ्नो छिमेकीमाथि आक्रमण गरेपछि सुरु भएको युक्रेन युद्धको विशिष्टतासँग यो कसरी सम्बन्धित छ भन्नेबारे चीनले विस्तार गर्न निरन्तर अस्वीकार गर्दै आएको छ ।

सन् २०१९ सम्म चीन युक्रेनको सबैभन्दा ठूलो व्यापार साझेदार थियो । युक्रेनले सन् २०१९ सम्म चीनलाई सबैभन्दा बढी मकै आपूर्ति गरेको थियो ।

न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार पुटिन र जिनपिङबीच मार्च २० मा भएको भेटघाट साढे चार घण्टा चलेको थियो। जिनपिङले रुसलाई भरपर्दो साझेदारको रुपमा व्याख्या गरेका छन् । दुवै नेताले सँगै डिनर पनि गरेका थिए । पुटिन र जिनपिङको निकटता निकै गहिरो छ । उनीहरुलाई डिनर पछि पनि भेटिएको थियो । पुटिन नै जिनपिङलाई आफ्नो कारसम्म छोड्न गएका थिए।

पुटिनलाई भेट्नुअघि जिनपिङले भनेका थिए, ‘मेरो भ्रमणको उद्देश्य युद्ध अन्त्य गर्नु हो । दुवै पक्षलाई मान्य हुने समाधान खोज्नुपर्छ । म युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि वार्ता गर्नेछु।’

सीको पूर्वउद्घोषअनुसार बुधबार जेलेन्सीसँग टेलिफोन वार्ता भएको हो । जिनपिङले पुटिन र जेलेन्स्कीलाई कम्तिमा युद्धविराममा मनाउन चाहन्छन् । यो कदम सफल भएपछि कूटनीतिक माध्यम खुल्नेछ र चीनको विश्व नेता बन्ने बाटो फराकिलो हुनेछ ।

अमेरिकाको स्वागत, नेटोको आशंका
चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रप्रमुख भोलोदिमिर जेलेन्स्कीबीच रूस र युक्रेनबीचको युद्ध अन्त्यको सम्भावनाबारे छलफल गर्न बुधबार भएको टेलिफोन वार्ताको ह्वाइट हाउसले प्रशंसा गरेको छ ।

‘राष्ट्रपति सी र जेलेन्स्कीबीच फोन वार्ता भएको खबरको हामी स्वागत गर्दछौं । यो राम्रो कुरा हो’ ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले भने, ‘अब यसले कुनै अर्थपूर्ण शान्ति अभियान वा योजना वा प्रस्तावको नेतृत्व गर्नेछ कि छैन भन्ने अझै सुनिश्चित भइनसकेको हाम्रो बुझाई छ ।’

उनले अगाडि थपे, ‘हामी यो युद्ध अन्त्य होस् भन्ने चाहन्छौँ । हामीले लामो समयदेखि यही कुरा भन्दै आएका छौं ।’ यदि रूसले युक्रेनबाट आफ्ना सेना फिर्ता बोलायो भने यो युद्ध ‘तत्काल’ अन्त्य हुन सक्ने उनले तर्क गरेका छन् ।
किर्बीले भने, ‘न्याय र दिगो शान्ति हुन सक्छ र विश्वसनीय आधार सिर्जना हुन सक्छ भने शान्तिमा पुग्ने कुनै पनि प्रयासको हामी स्वागत गर्दछौं ।’

‘हाम्रो विचारमा, युक्रेनी नागरिक र राष्ट्रपति जेलेन्स्कीले यसमा सहभागिता नजनाउँदासम्म वा शान्तिवार्ताका लागि समर्थन नगरेसम्म शान्तिको बिषयले दिगो वा विश्वसनीय सार्थकता पाउनेछैन,’ उनले अगाडि थपे ।

यसैबीच, उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख जेन्स स्टोल्टेनबर्गले युक्रेनमाथिको अवैध आक्रमणको निन्दा गर्न नसकेका कारण बेइजिङको धेरै विश्वसनीयता नभएको बताएका छन् ।

  • एएफपी लगायतका एजेन्सीहरूको सहयोगमा
the authoradmin