Friday, July 3

पत्रकार श्रीराम सिग्देललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान

नेपालअखबार, पाेखरा । पोखराका क्रियाशील पत्रकार श्रीराम सिग्देललाई राष्ट्रिय पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष समेत रहनुभएका सिग्देल चलचित्र पत्रकार संघ नेपालले आगामी जेठ ७ गते २४औं वार्षिक उत्सवको अवसरमा सम्मानित हुन लाग्नुभएको हो । सिग्देल सहित देश भरका अन्य पाँच जना चलचित्र पत्रकार समेत सम्मानित हुनुहुनेछ ।

Advertisement

पत्रकार सिग्देल नेपाल पत्रकार महासंघ कास्की शाखाको सहसचिव तथा पोखराबाट प्रकाशित हुने फेवापोष्ट साप्ताहिकको कार्यकारी सम्पादक समेत हुनुहुन्छ । सिग्देलले २०५४ साल देखि पोखरालाई कर्मथलो बनाई निरन्तर पत्रकारिता गर्दै आउनुभएको छ । सिग्देलको नेतृत्वमा २०६० सालमा चलचित्र पत्रकार संघ कास्कीको स्थापना भएको थियो ।

Advertisement
Advertisement

संघको आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८० बाट चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाका निवर्तमान अध्यक्ष तथा चलचित्र पत्रकार रवि अधिकारी, राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट श्रृष्टि पोखरेल, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८० बाट दीपज्योति थापा, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८० कुबेर डंगोल, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८० बाट तुलसी गिरी भावुक र राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८० बाट शान्तिप्रियलाई सम्मान गर्न लागेको चलचित्र पत्रकार संघ नेपालका महासचिव रघुनाथ सापकेटाले जानकारी दिनुभयो ।

Advertisement

बैठकले संघका पूर्व सदस्यहरुलाई मानार्थ सदस्य र चलचित्र पत्रकारिता गरिरहेका क्रियाशिल चलचित्र पत्रकारहरुलाई साधारण सदस्यता वितरण गर्ने निर्णय गरेको संघका केन्द्रीय अध्यक्ष समीर बलामीले बताउनुभयो ।