Saturday, July 4

एन्फा कार्यसमितिमा पंकजको पकड फर्कियो

नेपालअखबार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा केन्द्रीय कार्यसमितिको आपतकालीन बैठकले लिग कमिटी संयोजकमा उपाध्यक्ष विराटजंग शाहीलाई नियुक्त गरेको छ । अर्का उपाध्यक्ष दीपक खतिवडाले आपतकालीन समितिको सदस्यको जिम्मेवारी पाएका छन् ।

Advertisement

एन्फा मुख्यालयमा सोमबार दिउँसो करिब ३ घण्टा जारी बैठकले केही समययता असन्तुष्ट देखिएका पदाधिकारी र सदस्यमध्येबाट केहीलाई सहमतिमा फर्काएको छ । यसले एन्फाको कार्यसमितिमा अध्यक्ष पंकज नेम्वाङको पकड पुनः दरिलो भएको छ ।

Advertisement
Advertisement

लिग कमिटीको नेतृत्व यसअघि अध्यक्ष नेम्वाङले नै गर्दै आएका थिए । आपतकालीन समतिका सदस्य विकासनारायण श्रेष्ठले राजीनामा दिएपछि सो पदमा खतिवडालाई जिम्मा दिइएको हो ।

Advertisement

उपाध्यक्ष खतिवडाले मिसन फिफा वुमन्स विश्वकप २०२७-३१ समितिको संयोजकको जिम्मेवारीसमेत पाएका छन् । यो समितिमा महिला सदस्यद्वय सरिला श्रेष्ठ र पेमा डोल्मा सदस्य छन् ।

१७ फागुनमा उपाध्यक्षहरु शाही, खतिवडा र दीर्घबहादुर केसीसहित १० जनाले नेतृत्व र सचिवालयको कार्यशैलीमा असन्तुष्टि जनाउँदै महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्तीको माग गरेका थिए ।

असार ६ मा भएको निर्वाचनमार्फत कर्मा छिरिङ शेर्पालाई पराजित गरी एन्फाको नेतृत्वमा पुगेका पंकजले कार्यसमितिको पहिलो बैठकमै महासचिव, कोषाध्यक्ष र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखका रुपमा नवीन पाँडेलाई नियुक्त गरेका थिए । ती पदाधिकारी र सदस्यले एजेण्डाविहीन पहिलो बैठकको बैधानिकतामै प्रश्न उठाएका थिए ।

एन्फा निर्वाचनमा निवर्तमान अध्यक्ष कर्मा छिरिङको पक्षका तथा निर्वाचनमा नेम्वाङ समूहलाई सघाएको पूर्व अध्यक्ष गणेश थापा पक्षका पदाधिकारी र सदस्यले एकसाथ नेतृत्वको कार्यशैलीमा प्रश्न उठाउँदा अध्यक्ष नेम्वाङ रक्षात्मक बन्न पुगेका थिए ।

एन्फा नेतृत्वले फिफा कांग्रेसमा सहभागी हुन युगाण्डा जाने सूचीबाट उपाध्यक्ष शाहीको नाम विना जानकारी हटाएपछि २९ फागुनमा उनी विमानस्थल पुगेर फर्किनुपरेको थियो। उनले त्यस दिन आफू जीवनमै सबैभन्दा धेरै अपमानित हुनुपरेको भन्दै वक्तव्यबाजी गरेका थिए।

अध्यक्ष नेम्वाङले आफ्ना विरोधी टिमका केही सदस्यलाई सहमतिको प्रक्रियामा फर्काएपछि त्यो समूह कमजोर बन्न पुगेको छ । १७ फागुनको बैठकमा कार्यसमितिको कोरम नपुर्‍याएका कारण निर्णयले मान्यता नपाउने दावी असन्तुष्ट समूहले गरेको थियो । तर, संस्थापन पक्षले ११ जना पदाधिकारी उपस्थित बैठकको कोरम पुगेको दावी गरेको थियो ।

२१ सदस्यीय एन्फा कार्यसमितिमा बैठकले बैधानिकता पाउन ११ सदस्य उपस्थित हुनुपर्छ ।