Tuesday, May 12

बेकाम संसदीय समिति : वैशाख ३१ गते बैठक राख्ने तयारी

नेपालअखबार, काठमाडौँ । संघीय संसद् सचिवालयले यही वैशाख ३१ गते संसदीय समितिको बैठक राख्ने तयारी गरेको छ । संसद् बैठक बस्न थालेको ५ महिना र संसदीय समिति गठन भएको १५ दिन बितिसक्दा पनि संसदीय समितिको बैठक प्रारम्भ हुन सकेको छैन ।

संसद् सचिवालयले सभामुख देवराज घिमिरेलाई वैशाख ३१ गतेबाट समितिको बैठक अघि बढाउन सुझाव दिएको प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

Advertisement

रातोपाटीसँग कुरा गर्दै प्रवक्ता गिरीले भने,‘संसदीय समितिको बैठक राख्नका लागि सम्पूर्ण तयारी पूरा भइरहेको छ । कार्यालय व्यवस्थापन, कर्मचारी व्यवस्थापनको काम भइसकेको छ । सचिवालयको तर्फबाट सभामुख ज्यूलाई वैशाख ३१ गते बैठक राख्नका लागि सुझाव दिएका छौँ । संभवत सोही दिनबाट समितिहरूको बैठक सुरु हुन सक्छ ।’

प्रतिनिधि सभाको बैठकमा प्रि–बजेटमाथिको छलफल बिहान ११ बजेका कारण राखिएका कारण पनि संसदीय समितिको बैठक राख्न कठिनाइ भएको उनले बताए । यस्तै विभिन्न राजनीतिक पार्टीका आन्तरिक कार्यक्रमका कारण सांसदहरू उपस्थित हुन कठिनाइ हुने भएकाले समितिको बैठक सुरु हुन नसकेको हो ।

एमालेको आन्तरिक कार्यक्रम भएका कारण एमाले सचेतक महेश बर्तौलाले समितिको बैठक केहीदिन पनि सार्न संसद् सचिवालयलाई आग्रह गरेको प्रवक्ता गिरीले जानकारी दिए । यस्तै जेठ ३ गतेसम्म राप्रपाको पनि पार्टीका कार्यक्रमहरू रहेको जानकारी आएको बताउँदै सकभर सबै दलका सांसद उपस्थिति हुनेगरी समितिको बैठक राख्न लागिएको उनले बताए ।

वैशाख ३१ गते प्रतिनिधि सभा अन्तर्गत रहेको एउटा मात्रै समितिको भएपनि बैठक राख्ने तयारीमा सचिवालय रहेको उनले बताए । कर्मचारी अभाव रहेका २ वटा संसदीय समितिमा बैठक बस्नु अघिल्लो दिनसम्म व्यवस्थापन गरिसक्ने तयारी गरिएको छ ।

संसदीय समिति गठन भएर पनि बैठक बस्न भइरहेको ढिलाइका कारण सभामा प्रस्तुत भएका विधेयकहरुमाथि दफावार छलफल हुन सकिरहेको छैन ।

प्रतिनिधि सभाको बैठक बस्न थालेको ५ महिना बित्तिसक्दापनि संसदीय समितिको बैठक बस्न सकेको छैन । संसदीय समितिको नेतृत्वमा राजनीतिक भागवण्डा मिल्न मिलाउन खोज्दा संसदीय समिति गठनमा ढिलाई भएको थियो । १५ दिनअघि प्रतिनिधिसभाले संसदीय समिति गठन गरेपनि कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने समितिहरु चलायमान हुन सकिरहेका छैनन् ।