Saturday, July 4

म्याद सकिँदा पनि बागलुङ नगर अस्पताल भवनको काम सकिएन

नेपालअखबार, बलेवा । आगामी आसर मसान्तमा तोकिएको समयसीमा सकिनलाग्दा बागलुङ नगर अस्पतालको पहिलो तला मात्रै ढलान भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण नगर अस्पतालको भवन समयमा निर्माण सम्पन्न नहुने भएको हो ।  लामो समय अलपत्र अवस्थामा रहेको अस्पताल भवनको काम धिमा गतिमा छ । बागलुङ नगरपालिकाले पटक–पटक ताकेता गर्दासमेत निर्माण व्यवसायीले कामको गति नबढाएको स्थानीयको गुनासो छ । निर्माण सम्झौताको २१ महिना बितिसक्दा कम्पनीले पहिलो तला मात्रै ढलान गरेको छ । दोस्रो तलाका लागि पिल्लर बनाउने काम सुस्त छ ।

Advertisement

पन्ध्र शय्याको अस्पताल भवन निर्माण गर्न श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते ठेक्का सम्झौता गरिएको थियो । रु १२ करोड ८७ लाखमा सम्झौता भएको भवनको ३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको नगरपालिकाका इञ्जिनियर त्रिलोचन गिरीले बताउनुभयो । भवन २०८० असार २० गतेसम्म सक्नुपर्ने सम्झौता छ । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत साढे दुई तलाको लिफ्टसहितको अस्पताल निर्माण गर्ने ‘स्टिमेट’ छ ।

Advertisement
Advertisement

“यस्तो गतिले समयमा काम सकिँदैन, निर्माण समयमा सक्न निर्माण व्यवसायी जिम्मेवार हुनुपर्छ”, अनुगमनका लागि अस्पताल भवन निर्माणस्थल पुगेका जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले भने, “अस्पताल भवन जस्तो महत्वपूर्ण भवन निर्माणमा ढिलाइ हुनु दुःखद हो ।” उनले निर्माण कम्पनीले प्राविधिक जनशक्तिको निगरानी बिना नै भवन निर्माणको काम गरिरहेकाले त्यसलाई तत्काल सच्याउन आग्रह गरे ।

Advertisement

लामो समयको प्रयास र पहलपछि नगरपालिकाको नगर अस्पताल पैयुँपाटामा निर्माण सुरु भएको थियो । अस्पताल भवन निर्माण अघि बढे पनि निर्माण व्यवसायीले लापरबाही गर्दा काम सम्पन्न हुनेमा स्थानीय सशङ्कित छन् ।  भवनको काम छिट्टै सकाउन नगरका तर्फबाट सबै प्रयास भइरहेको नगर उपप्रमुख राजु खड्काले बर्ताए । “व्यवसायीलाई ताकेता गरिरहेका छौँ, अस्पतालको सेवा थप गर्न डाक्टरको माग गरी पदपूर्ति गरे पनि डाक्टर बस्नु भएन, अरू प्रयास भइरहेका छन्”, खड्काले भने ।

बागलुङ–१३ पैयुँपाटा स्वास्थ्यचौकीलाई नै नगर अस्पतालका रुपमा नामकरण गरिएको थियो । सरकारले प्रत्येक पालिकामा १५, १० र पाँच शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार स्वास्थ्यको पहुँचबाट टाढा रहेको नगरपालिकाको दक्षिण भेगलाई लक्षित गरी नगर अस्पताल निर्माण थालिएको भए पनि अस्पताल भवन निर्माणमा ढिलाइ हुनु र अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी नहुँदा समस्या भएको छ ।

नगरपालिकाको रायडाँडा, पैयुँपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुनेछ । अस्पतालमा एमडिजिपीसहित तीन चिकित्सक आवश्यक रहे पनि अहिले मेडिकल अधिकृत राख्न नसकिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्थानीयको नौ रोपनी जग्गा नगर अस्पतालका नाममा पास गरेपछि अस्पताल निर्माण अघि बढेको थियो । निर्माण कम्पनीले भने सडकको असुविधाका कारण समयमा काम गर्न नसकेको बताउने गरेको छ । रासस