नेपालअखबार, काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने भएको छ । एकीकृत समाजवादी मोर्चा संगठन विभागको नवौँ बैठकले भ्रष्टाचारविरुद्धको जारी आन्दोलनलाई अझै सशक्त पार्ने निर्णय गरेको छ ।
भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादी अब कडा रुपमा प्रस्तुत हुने मोर्चा संगठन विभागका प्रमुख डा. विजय पौडेलले जानकारी दिनुभएको छ । भ्रष्टाचारविरुद्धको आन्दोलन सशक्त पार्न एकीकृत समाजवादीले मोर्चा सङ्गठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी र विशेष जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।
मोर्चाले भ्रष्टाचारविरुद्ध जेठ १६ गते दिउँसो ४ बजे काठमाडौँको माइतीघर मण्डलामा बृहत् जुलुस निकाल्ने भएको छ । मोर्चा संगठन विभाग प्रमुख पौडेलका अनुसार माइतीघरबाट शुरु हुने भ्रष्टाचारविरुद्धको जुलुस नयाँ बानेश्वरमा पुगेर सभामा परिणत हुनेछ । सभामा पार्टीका प्रभावशाली नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान तथा कारबाही थालेपछि त्यसलाई निष्पक्ष बनाउन दबाब दिने उद्देश्यले एकीकृत समाजवादीले देशभर विभिन्न आन्दोलनहरू गर्दै आएको छ ।