Thursday, May 21

अब हाम्रो विद्युतलाई बजारको समस्या हुँदैन: अर्थमन्त्री महत

नेपालअखबार, काठमाडाैं। अर्थमन्त्री प्रकाशशरण महतले विद्युत निर्यातको समस्या समाधान हुने बताएका छन्।

आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब विद्युत निर्यातको समस्या समाधान हुने बताएका हुन्।

Advertisement

उनले विद्युत निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धीको रूपमा लिनुपर्ने बताए।

‘भ्रमण अत्यन्त सौर्हादपूर्ण भयो। अब दिर्घकालमा विद्युत निर्यातको जुन समस्या थियो त्यो समस्यालाई समाधान गर्ने काम अगाडि बढेको छ। हामीले विद्युत उत्पादन गर्न सक्नुपर्‍यो,’ उनले भने, ‘अब बजारको समस्या हुन्न भन्ने कुरा यो ठूलो उपलब्धिको कुरा हो जस्तो लाग्छ। यद्यपी यो विषयमा पहिलादेखि नै काम भइराखेको थियो।’

विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा पनि उनले जोड दिए। उनले विद्युत निर्यातलाई बढाउन सकेमा व्यापार घाटा घट्ने बताए।

‘एकातिर हाम्रो विद्युत उत्पादन बढ्दै गएमा आन्तरिक खपत पनि हामीले बढाउँदै लाने हो। यहाँको यातायातलाई विद्युतीय माध्यमबाट चलाउनेदेखि लिएर खाना पकाउने कुराहरूलाई विद्युतीय माध्यमबाट चलाउने गर्‍यो भने हाम्रो पेट्रोलियम आयात घट्छ,’ उनले भने, ‘त्यसैगरी विद्युत निर्यात हामीले ज्यादाभन्दा ज्यादा गर्न सक्यौ‌ं भने त्यसबाट पनि व्यापार घाटा घट्ने भयो।’