Thursday, July 16

कोरोना महामारीमा मानवीय हिसाबले जिप दिएका हुन् :मियाँका वकिलको तर्क

नेपालअखबार, काठमाडौं । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहले गृह मन्त्रालयको जिप प्रयोग गरेको भेटियो । गृह मन्त्रालयकै गाडी गिरोहले प्रयोग गरेको अनुसन्धानका क्रममा खुलेपछि प्रहरीले गृह मन्त्रालयको स्वामित्वमा भएको बी.ए.बी–१४०५ नम्बरको निशान जिप नियन्त्रणमा लियो ।

Advertisement

नेपाल हज समितिको स्वामित्वमा रहेको सो जिप उपलब्ध गराएको आरोपमा प्रहरीले हज समितिका अध्यक्ष शमशेर मियाँलाई समेत नियन्त्रणमा लियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ ।

Advertisement
Advertisement

बुधबार मियाँको तर्फबाट ३ जना अधिवक्ताले थुनछेक बहस गरेका छन् । अधिवक्ता ऋषिराम घिमिरेले कोरोनाको महामारीमा बिरामी बोक्ने प्रयोजनका लागि सो जिप दिएको जिकिर गर्दै भने, ‘मेरो पक्षले मानवीय हिसाबले सो जिप दिएका हुन्, कसुर गर्न दिएका हैनन् ।’

Advertisement

मियाँले आरोपित सन्देश शर्मालाई जिप दिएको अनुसन्धानबाट थाहा भएको छ । अर्की अधिवक्ता मन्दिरा अधिकारीले पनि मानवीय समवेदनाको हिसाबले गाडी उपलब्ध गराएको बताइन् । शमशेर मियाँ आफैँ गाडी चलाउन सक्ने उल्लेख गर्दै अधिकारीले भनिन्, ‘कसुर गर्नका लागि गाडी पठाउने भए आफैँ लिएर जान्थे होलान्, मानवीय हिसाबले चालकको जिम्मामा पठाएका छन् ।’

अभियोग पत्रमा कुन मितिमा गाडी दिएको भन्ने पनि यकिन नभएको उल्लेख गर्दै मियाँलाई साधारण तारेखमा छाड्न उनका कानुन व्यवसायीले इजलासमा आग्रह गरेका छन् ।