
नेपालअखबार, काठमाडौँ । बुधबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पूर्वको काबेली नदीमा आएको बाढीले ताप्लेजुङ जिल्लाको जनजीवन प्रभावित भएको छ । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका नेता योगेश भट्टराईले अविरल बर्षाका कारण जिल्लाका सिदिङ्मा र सिरिजंघा गाउँपालिकाका सुरुङ्खिम, खेवाङ र याम्फुदिन लगायतका क्षेत्रमा भैतिक क्षति पुर्याएको बताएका छन् ।
शुक्रबार बिहान केही तस्बिर सामाजिक सञ्जालमा राख्दै सांसद भट्टराईले जिल्लाका केही ठाउँमा सडक, मोटरेवल पुल तथा झोलुङ्गे पुलमा भएको क्षतिले आवागमनमा अवरोध पुगेको बताएका छन् । ‘केही निजी घर तथा विद्यालय भवन जोखिममा परेका छन् । म यातायातलाई सहज बनाउन, जोखिममा परेका समुदायलाई सुरक्षित गर्न तथा पुनः निर्माणको कार्य अघि बढाउन नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार लगायत सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछु’, भट्टराईले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।


