राजनीतिसमाचार

कृषिक्षेत्रको आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिनु जरुरी – मन्त्री भुसाल

नेपालअखबार, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले मुलुकमा कृषि क्षेत्रको विकासका लागि छिट्टै ऐन ल्याउने बताउनु भएको छ । युवा किसान सङ्घको  राष्ट्रिय भेलाको उद्घाटन गर्दै मन्त्री भुसालले अहिलेसम्म कृषि ऐन नबन्दा यस क्षेत्रमा सिर्जित समस्या समाधान गर्न नसकिएको बताउनु भयो  ।

ऐनमा वास्तविक किसानलाई स्थानीय तहको सिफारिसअनुसार मल, बीउ बिजनको व्यवस्था गरिएको जानकारी दिँदै उहाँले यस वर्ष मलको अभाव हुन नदिन आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउनु भयो  ।
कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणमा जोड दिन आग्रह गर्दै मन्त्री भुसालले भन्नुभयो  “कृषिको आधुनिकीकरण र यान्त्रिकीकरणमा हाम्रो ध्यान गएको छैन । अनुदानको रकम सदुपयोग गरेर यान्त्रिकीकरणमा ध्यान दिनुपर्छ ।” उत्पादनमुखी क्षेत्रमा अनुदानका लागि प्रदेश र स्थानीय तहमा समन्वय गरिएको उहाँले बताउनु भयो  ।

मन्त्री भुसालले कृषिजन्य उत्पादनको प्रयोगमा उपेक्षा हुन थालेकामा चिन्ता व्यक्त गर्दै यसको प्रयोग बढाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो  । कृषिजन्य उत्पादनलाई विषादी मुक्त गर्न आग्रह गर्दै मन्त्री भुसालले, “घरघरमा, चुलोचुलोमा विषादी छ भन्ने आम धारणा छ । यसको नियमन, अनुगमन कार्य आवश्यक छ ।”

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रयोगशाला स्तरोन्नतिमा आफ्नो विशेष जोड रहने बताउँदै उहाँले त्यसका लागि आफूले सक्दो पहल गर्ने विश्वास दिलाउनु भयो  । मन्त्री भुसालले स्रोत, साधन र जनशक्ति भएर मात्रै काम नहुने भन्दै त्यसको व्यवस्थापनमा विशेष ध्यान पुर्याउनुपर्ने बताउँदै हालै मात्र सरकारले तरकारी र फलफूलको विषादी चेकजाँजसम्बन्धी नयाँ निर्णय गरेको बताउनु भयो ।  कतिपय ऐन र कार्यविधिको अभावले पनि सोचेजस्तो काम हुन नसकेको भन्दै मन्त्री भुसालले तत्काल खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसद्बाट पास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले अब कृषिमा नतिजामुखी भएर काम गर्नुको विकल्प नभएको भन्दै यसका लागि सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउनु भयो  । नेकपा ( एकीकृत समाजवादी ) का केन्द्रीय सदस्य प्रमेश पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिको आधार कृषि उत्पादन भएको बताउँदै यसतर्फ युवा वर्गलाई आकर्षित गर्न आवश्यक नीति अवलम्बन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो  ।

the authoradmin