विश्वसमाचार

आन्ध्र महासागरमा वेपत्ता टाइटन पनडुब्बीको खोज जारी

नेपालअखबार, काठमाडौं । आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएका पर्यटक चढेको पनडुब्बी वेपत्ता भएपछि त्यसको खोजी जारी छ । तर अहिलेसम्म पनडुब्बी फेला पर्ने कुनै संकेत छैन ।

गत आइतबार महासागरमा डुबुल्की लगाएको १ घन्टा ४५ मिनेटमा नै पनडुब्बीसँगको सम्पर्क टुटेको थियो । जबकी पनडुब्बी ८ घन्टामा टाइटानिकको भग्नावशेष अवलोकन गरेर माथि उत्रिसक्नु पर्ने थियो ।

टुर कम्पनी ओसियनगेटको यो पनडुब्बीमा पाकिस्तानी अरबपति शहजादा दाउद र उनका छोरा सुलेमान तथा बेलायती व्यवसायी हामिस हार्डिङ्गसहित ५ जना छन् ।

पनडुब्बीमा रहेको अक्सिजन सकिन लागेको छ, अब ७-८ घन्टा भन्दा बढीको अक्सिजन पनडुब्बीमा नभएकाले चिन्ता बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यो खोजमा अमेरिकी, क्यानडेली एजेन्सीका साथै नौसेना, समुन्द्रको गहिराइमा उत्रिने व्यावसायिक कम्पनी संलग्न छन् । खोजामा सैन्य विमान, पनडुब्बी तथा पानी भित्रको आवाज सुन्न सक्ने प्रविधि जोडिएका मेसिनको प्रयोग गरिएको छ ।

टाइटानिक हेर्न पनडुब्बीमार्फत समुन्द्रको ३ हजार ८०० मिटरको गहिराइमा पुग्नुपर्छ । जबकी एउटा व्यावसायिक गोताखोर पानी भित्र ४० मिटर तल मात्र पुग्न सक्छ । अमेरिकासहितका देशका जलसेनाले प्रयोग गर्ने शैन्य पनडुब्बी पनि ३०० मिटरको गहिराइमा पुग्छन् । सूर्यको किरण पनि समुन्द्रको तल एक किलोमिटरसम्म मात्र पुग्छ ।

सन् १९१२ मा बेलायतबाट अमेरिकाका लागि हिँडेको टाइटानिक जहाज हिउँको ठूलो टुक्रासँग ठोक्किएपछि समुन्द्रमा डुबेको थियो ।

२ हजार २ सय जना सवार यो जहाजका ७ सय यात्रीको सकुशल उद्धार गरिएको थियो भने बाँकी १ हजार ५०० जनाको मृत्यु भएको थियो ।

टाइटानिक जहाजको भग्नावशेष दुर्घटनाको ७३ वर्षपछि सन् १९८५ मा फेला परेको थियो । टाइटानिक २ टुक्रामा विभाजित छ र एक टुक्राबाट अर्को टुक्रासम्मको दूरी २ हजार ६ सय मिटर छ ।

टाइटनिकको भग्नावशेष भएको ठाउँबाट नजिकको जमिन क्यानडाको न्यूफाउन्डल्याण्ड ७०० किलोमिटर टाढा छ ।

– एजेन्सीको सहयोगमा 

the authoradmin