प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

स्थानीयकै पहलमा बन्दै भूकम्पले भत्काएको मर्कज जामे मस्जिद

गोरखा । भूकम्पले क्षती पु¥याएको मस्जिद पुर्ननिर्माणमा स्थानीय जुटेका छन् ।

भीमसेन थापा गाउँपालिका ६ अश्राङको झिंगटेमा रहेको मस्जिद पुर्ननिर्माणका लागि गाउँले आफैले चन्दा संकलन गरेर रकम जुटाएका हुन् । २०७२ सालको विनाशकारी भूकम्पले चर्किएको मर्कज जामे मस्जिदको अघिल्लो सालको कार्तिकदेखि पुर्ननिर्माण थालिएको थियो ।

झण्डै ६० लाख लागत लाग्ने अनुमान गरिएको मस्जिद पुर्ननिर्माणमा स्थानीयले हालसम्म करिब २६ लाख आफैले जुटाएको मस्जिद निर्माण समितिका अध्यक्ष अलि बकस मियाँले बताए ।

भूकम्पले भत्काएको निर्माणाधिन मर्कज जामे मस्जिद । अश्राङ गोरखा

‘भूकम्पले मस्जिदलाई क्षती पु¥याएपछि भित्र नमाज पढ्न सक्ने अवस्था थिएन, सुरुका ३ बर्षसम्म रकम अभावले भत्काउन पनि सकेनौ’ उनले भने ‘कतैबाट सहयोग आउछ कि भनेर पर्खदा त्यो हाल भएपछि मस्जिद बनाउन आफै कस्सियौ ।’

गाउँकै स्थानीयबाट ८ लाख रकम चन्दा जुटाएर पुर्ननिर्माणको काम सुरुवात गरिएको सो मस्जिदमा भीमसेन थापा गाउँपालिकाले समेत १५ लाख रुपैया सहयोग गरेको बताइएको छ ।

दुई बर्षगरी गाउँपालिकाले मस्जिद बनाउनका लागि १५ लाख रुपैया बिनियोजन गरेको समितिका अध्यक्ष मियाँले बताए । ‘सुरुमा हामीले गाउँबाटै ८ लाख जुटाएर काम सुरुवात ग¥यौ, पछि गाउँपालिकाबाट पनि सहयोग भयो’ उनले भने ‘त्यसले अलि राहत मिल्यो ।’

मस्जिद पुर्ननिर्माणका लागि गोरखाबाट बैदेशिक रोजगारीमा कतार पुगेका युवाहरुले समेत रकम जुटाइदिएका छन् । उनिहरुले त्याहा कार्यरत नेपालीहरुबाट चन्दा संकलन गरेर करिब ९ लाख रुपैया सो मस्जिद बनाउनका लागि पठाएका हुन् ।

त्यति मात्रै होइन जिल्लाका अन्य स्थानका मुस्लिम समुदायबाट समेत ९ लाख रकम सहयोग आएको अध्यक्ष मियाँले बताए । ‘सुरुवात गर्न मात्रै कठिन रहेछ, जब काम सुरु भयो हामीले सोचे भन्दा बढी सहयोग मिल्यो’ मियाँले भने ‘अहिलेसम्म गाउँपालिकाको १५ लाख समेत गरेर झण्डै ४० लाख जति रकम जुटेको छ तर अझै २० लाख जति रकम अपुग हुने हाम्रो अनुमान हो ।’

१ रोपनी भन्दा बढी क्षेत्रफलमा निर्माण गरिएको मस्जिदको हाल ढलानको काम सकिएको बताइएको छ ।

तर रकम अभावकै कारण प्लाष्टर, झ्याल ढोका, रंगरोगनको काम भने सुरु हुन नसकेको उनको भनाई छ । झण्डै डेढ सय घरधुरी मुस्लिम समुदाय रहेको अश्राङमा सो मस्जिद समयमै पुर्ननिर्माण हुन नसक्दा समस्या हुदै आएको स्थानीयको दुखेसो छ ।

भूकम्प गएको ४ बर्ष बितिसक्दा समेत अस्थायी टहरामै नमाज लगायतका नियमित प्राथना गर्न बाध्य रहेको उनिहरुको भनाई छ । हाल अश्राङमा सो समेत गरी ५ वटा मस्जिद र २ मदरसा सञ्चालनमा छन् ।

जसमध्ये एउटामा भने नेपाली पाठ्यक्रमको समेत पढाई हुदै आएको मियाँले बताए ।

the authoradmin

Leave a Reply