
नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट सिद्धान्तलाई स्वदेशी मौलिकतामा विकास गरी त्यसलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारीको योगदान उच्च रहेको बताउनु भएका छ।
मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा अध्यक्ष नेपालले एक सन्देश जारी गर्दै नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादको प्रतिपादन र त्यसको प्रयोगबाट सामाजिक न्याय, समानता, विकास र समृद्धिका लागि भण्डारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभएको हो।
भण्डारीले विश्व परिवेशमा रक्षात्मक बन्दै गएको कम्युनिष्ट सिद्धान्तलाई गहिरो अध्ययन गरी समयसापेक्ष जनताको चाहनाअनुसार सुदृढीकरण गरी लोकप्रिय बनाएको भनिएको सन्देशमा उनको सरल जीवनशैली, आदर्श, निष्ठा र सङ्घर्ष सबैका लागि अनुकरणीय र प्रेरणादायी नेपालको भनाइ छ। तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको वि.स.२०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो।

