कृषिसमाचारसमाज

म्याग्दीमा हराउन थाल्यो पर्मको परम्परा

नेपालअखबार, गलेश्वर ।  एक दशकअघिसम्म ग्रामीण क्षेत्रमा धान, कोदो रोप्दा अर्मपर्म लगाउने परम्परा हिजोआज हराउँदै जान थालेको छ । पर्म लगाउने परम्पराका साथै पर्मका बेला गाइँने पर्मेली गीत पनि लोप हुँदै गएका छन् ।

धान, कोदो रोप्दा र गोडमेल गर्दा गाइँने पर्मेली गीतले कुनैबेला म्याग्दीको ग्रामीण क्षेत्र घन्किथ्यो । गीत गाउँदै असारे झरीमा अर्मपर्म गर्दै काम गर्नुको मज्जै बेग्लै थियो ।

जिल्लाको मगर बाहुल्यता भएको माथिल्ला बस्तीमा काम गर्दा माइती र घर पक्षका आफन्तलाई बोलाई आलोपालो गरेर काम गर्ने, सम्बन्ध जोड्ने दुई सय वर्ष पुरानो परम्परा हराउँदै गएपछि ग्रामीण संस्कृति पनि नासिँदै गएकामा पाका पुस्ताले चिन्ता व्यक्त गर्न थालेका छन् ।

‘पर्म पराम्पराको इतिहास दुई सय वर्ष पुरानो छ’, बेनी नगरपालिका-२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद उपाध्यायले भने, ‘विसं १८७० ताका म्याग्दीका गाउँगाउँमा रहेका मुखियाले आफ्नोआफ्नो खेतमा काम गर्नका लागि गाउँलेलाई उर्दी लगाउँथे ।

सबै गाउँले मिलेर उनीहरुकामा निःशुल्क काम गरिदिनुपर्दथ्यो । त्यसकै सिको गर्दै गाउँलेहरुले पनि एक अर्काकामा गएर पालैपालो काम गर्न थाले, त्यसैलाई नै ‘पर्म लाउनी’ भन्न थालियो।’

अर्थ र श्रमसँग प्रत्यक्ष सम्बन्ध रहेको पर्म प्रथा सामाजिक सम्बन्धको मापन भएको मालिका गाउँपालिका-६ का ७३ वर्षीय डिलबहादुर पुनले बताए । उनका अनुसार परम्पराकैरूपमा रहेका कारण पर्म प्रथा ग्रामीण संस्कृतिको एक अङ्ग बनेको थियो । ‘पर्म प्रथालाई सन्दर्भ बनाएर आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा प्राज्ञिक अध्ययन भएको पाइँदैन’, उनले भने ।

पर्म प्रथालाई सामाजिक अध्ययनको विषय बनाउनु नितान्त आवश्यक रहेको समाजशास्त्रका अध्यापक नवीन घिमिरेले बताए । ‘कसैको खेतमा रोपाइँ गर्नुपर्‍यो वा फसल काट्नुपर्‍यो भने थोरै श्रमले पुग्दैन । यस अवस्थामा एकले अर्काको खेतमा काम गर्न जाने हो । काममा सघाउन आउनेहरू एकभन्दा बढी हुन्छन् र छिटै काम सम्पन्न हुन्छ । सहयोगको बदलामा सहयोग नै गर्न जाने प्रथा नै पर्मका रूपमा बुझिन्छ’, उनले भने ।

समय परिवर्तनसँगै ग्रामीण बस्तीबाट बसाइँसराइ गरेर सहर पस्ने क्रम बढ्दै गएपछि गाउँमा खेती लगाउने र अर्मपर्म गर्ने परम्परा घट्दै गएको घिमिरेको भनाइ थियो ।

युवा शिक्षा तथा रोजगारीका लागि विदेशमा जाने र परिवार सहरतिर झर्ने चलन जिल्लामा व्यापक बढे्काले खेती गर्नेको कमी हुँदा पर्म प्रथा पनि लोप हुँदै गएको उनले बताए ।

कोदो उत्पादनका लागि प्रसिद्ध मानिएको जिल्लाको मालिका गाउँपालिका-२ रुममा एक दशकअघिसम्म कोदो रोप्दाको रमाइलो बेग्लै हुन्थ्यो। ‘कोदो रोप्नका लागि जुटेका माइती र चेलीको हुलले असारको तेस्रो सातादेखि साउनको दोस्रो सातासम्म बारी ढाकेको हुन्थ्यो’, स्थानीय तिला विकले भनिन् । बाँसुरी, मादल, बच्छे बाजालगायतका बाजा बजाएर मेलामा पर्मेली गीत गाउँदा कुनै ठूलै चाडको झल्को आउने उनले बताए ।

विकका अनुसार रुमको केही जग्गामा कोदो रोपाइँ हुने गरे पनि आजभोलि पर्मेली हुल देखिन छाडेका छन् । ‘पहिला बाजागाजासहित पर्मेली गीत गाउँदै तामझाम गर्दै कोदो रोपाइँ गर्ने चलन थियो’, उनले भनिन्, ‘यहाँ अहिले कोदो रोपाइँ सुरू भए पनि पहिलाजस्तो पर्मेली हुल छैनन् ।’ माइती र चेली जुटेर एकअर्कामा पर्म लगाउँदै पर्मेली गीत गाउने रुमको मौलिक विशेषता रहेको उनको भनाइ थियो ।

चेलीले कोसेली दिएपछि माइती पर्म लगाउन तयार हुने र माइतीकोसमेत रोपाइँ सकेपछि अन्त्यमा भोज खाएर कोदो रोपाइँ समापन गर्ने चलन यहाँको पुरानो परम्पराका रूपमा मानिन्छ ।

अहिले बजारमा निस्किएका थरिथरिका आधुनिक गीत/सङ्गीतले नयाँ पुस्तालाई ध्यान खिच्न थालेपछि त्यसको असर पर्मेली गीतमा परेको छ । पर्मेली गीत गाएर कोदो रोप्ने चलनलाई विस्थापित गर्दै अहिले मोबाइलमा गीत बजाएर कोदो रोप्न थालिएको स्थानीय बताउँछन् ।

ग्रामीण क्षेत्रका स्थानीय रोजीरोटीका लागि बाह्य क्षेत्रमा जानेक्रम बढेसँगै पर्म लगाउने परम्परा प्रभावित भएको यहाँका स्थानीयको भनाइ छ ।

जिल्लाका रुम, ओखरबोट, हिस्तान, नारच्याङलगायत गाउँमा युवा परिवारसहित सहर तथा सुविधासम्पन्न क्षेत्रमा बसोबास गर्ने क्रम बढ्दो छ । पहिला  मुख्य चहलपहल हुने यी ठाउँका घर अहिले रित्तिएका छन् ।

रित्तिएका घर रूग्न र जग्गा कमाउनका लागि आसपासका क्षेत्रबाट गाउँमा आउनेले पर्मेली परम्परालाई चासो नदिने रसमाया सिउथानीले बताइन् । गाउँमा अहिले पहिलाको तुलनामा पर्मेली परम्परा हराउन थालिसकेको उनको भनाइ छ ।

‘गाउँभरिका माइती चेली जुटेर एकैदिन मेलो सल्टाउँदा खुब रमाइलो हुन्थ्यो’, उनले भनिन्, ‘अहिले कतैकतै मात्रै अर्मपर्म चलिरहेको छ । अब त यो परम्परा नै मासिने पो हो कि भन्ने चिन्ता छ ।’

पर्मेली परम्परा हराउँदै गएपछि जिल्लामा पर्मेली गीत गाउनेको अभाव हुन थालेको सिउथानीले बताइन् । ‘उमेर ढल्केकाले मात्रै पर्मेली गीत भाका हालेर गाउन सक्छन् । उनीहरू मेलापातमा पुगेर भाका हाल्न सक्दैनन् । नयाँ पुस्ताले पर्मेली गीत बिर्सिसके’, उनले भने ।

किसानलाई खेतीकिसानीमा आकर्षित गराउन र सबै समुदायलाई एकै भावनामा जोड्नका लागि पर्मेली गीत र पर्म लगाउने परम्पराले सहयोग गरेको मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगरले बताइन्। ‘संस्कृतिकैरूपमा विकास भएका यस्ता परम्परा जोगाउनका लागि हामी लागिपर्नु आवश्यक भएको छ’, उनले भनिन् ।

यता, समाजशास्त्रका अध्यापक घिमिरेका अनुसार पर्म प्रथालाई अधिकांश समाज तथा समुदायले आफ्नो आफ्नो मौलिक परम्पराका रुपमा लिएका छन् ।

‘पर्म प्रथा विस्तारै अन्य समुदायले अपनाएका हुन् । पर्म प्रथा समाजमा रहेको निकै पुरानो सरम्परा हो । यसले एकआपसमा सहयोगको भावना विकास गर्दै समाज विकासमा लाग्न प्ररित गर्छ”, उनले भने ।रासस

the authoradmin