Friday, April 24

यो सरकारले केही गर्दैन, ढाँट्छ र छक्याउँछ मात्रैः ओली

नेपालअखबार, काठमाडाैं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ढाँट्न र छक्याउन बाहेक केही नगर्ने बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको बागमती प्रदेश कमिटीको सातौं बैठकमा ओलीले सरकार गठन भएको सात महिनामा ढांट्नु र छल्नबाहेक अरू काम नगरेको बताएका हुन्।

Advertisement

उनले जेठ २४ गते पेस गर्नुपर्ने मिटरब्याजसम्बन्धी विधेयक असार ५ गते  ल्याएर एमालेले पास गर्न दिएन भन्ने बनाएको बताए।

‘यिनीहरुनै हुन, जसले बैशाख २४ गते पेश गर्नुपर्ने कुरा असार ५ गते पेश गर्छन पार्लियामेन्टमा । के हेरेर बसे ? राष्ट्रियसभामा असार ५ गते पेश गर्छन, बैशाख २४ गते गर्नुपर्ने त्यो अध्यादेशसम्बन्धि प्रतिस्थापन विधेयक । बैशाख २४ देखि असार ५ सम्म के हेरेर बसे?,’ उनले भने।

ओलीले सरकार उदासिन, लापरवाह र सामन्तको पक्षमा भएकाले  नियोजित रूपमा  अन्तिम दिन विधेयक पारितका लागि संसदमा ल्याइएको आरोप लगाए।

संसदमा बोल्न दिएन भनेर प्रधानन्त्रीले झुट प्रचार गरेको ओलीको भनाइ थियो।

‘कहाँ गर्नु भयो उहाँले स्पष्टिकरण ? बल्ल हिजो स्पष्टिकरण दिन्छु भनेपछि हामीले दियौं त,’ उनले भने।