अर्थकृषिसमाचारस्वास्थ्य

लम्पी स्किनबाट सुदूरपश्चिममा मात्रै २६ हजार पशुचौपाया मरे, ६ लाख संक्रमित

Nepal Akhabar

नेपालअखबार, । ‘लम्पी स्किन’ रोगको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार ९९१ पशुचौपाया मरेका छन्। प्रदेशका ९ वटै जिल्लामा ६ लाख ३४ हजार ७९९ पशुचौपायामा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ।

तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन्।

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशमा ६३० पशुचौपायालाई सो रोगविरुद्धको खोप लगायएको छ।

‘तीन वर्षदेखि लम्पी स्किनबाट पशुचौपाया संक्रमित हुँदै आएका छन्,’ डा. अवस्थीले भने, ‘यस वर्ष पहाडी जिल्लामा कडा खालको सङ्क्रमण देखियो।’

‘पोक्स’ भाइरसको सङ्क्रमणबाट हुने लम्पी स्किनबाट सबैभन्दा बढी कैलालीमा २ लाख ३३ हजार ५ सय पशुचौपाया संक्रमित भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय डोटीका अधिकृत पुष्करराज नाथले जानकारी दिए।

कैलालीमा १५ हजार बाच्छाबाच्छी, ८३ हजार तीन सय ९३ गाई, २१ हजार तीन सय ५१ गोरु र एक लाख १३ हजार तीन सय २७ भैँसी यसबाट संक्रमित भएका छन्। कैलालीमा लम्पी स्किनबाट हालसम्म ६५७ पशुचौपाया मरेको तथ्यांक छ।

यसैगरी लम्पी स्किनबाट बझाङमा चार हजार छ सय २३ पशुचौपाया मरेका छन्। सबैभन्दा कम कञ्चनपुरमा १८ पशुचौपाया सो रोगबाट मरेको तथ्यांक छ।

अछाममा एक हजार छ सय ७८, डोटीमा तीन हजार छ सय ७९, बाजुरामा सात सय ५३ र दार्चुलामा एक हजार छ सय ६९ र डडेल्धुरामा दुई हजार तीन सय ९६ पशुचौपाया लम्पी स्किनबाट मरेको तथ्यांक छ।

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीमा प्रमुख गुमानीदत्त पन्तले रोगको नियन्त्रणका लागि पहल भइरहेको जानकारी दिए।

‘मन्त्रालय र स्थानीय तहको पहलमा औषधि वितरण गर्ने काम भइरहेको छ। पालिकामार्फत पशुपालक किसानलाई औषधि वितरण गरिँदै छ,’ उनले भने। प्रदेशमा औषधि र खोपको अभाव भएको पन्तले बताए।

the authoradmin