अर्थकृषिसमाचार

महँगोमा धान खरिद, ५० प्रतिशत सस्तोमा लङ रेन्च चामल बिक्री

Nepal Akhabar

नेपालअखबार, विराटनगर । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको लगानीमा बेलबारी ९ मा स्थापना भएको आरजु राइस मिलले धान खेतीमा ‘क्रान्ति’ ल्याएको छ । मिलको प्रत्यक्ष निगरानी र सहयोगमा झापा, मोरङ र सुनसरीका ३ हजार किसानले राम धान लगाएका छन् ।

 उक्त धानबाली लगाएसँगै उत्पादनमा वृद्धि भएको छ । यसअघि मुस्किलले प्रतिकट्टा ४ मन धान फल्ने खेतमा उक्त धान ७ मनसम्म फलिरहेको छ ।

जसका कारण यसभेगको किसानले दुई बाली हिउँदे र वर्षे धान लगाइरहेका छन् भने किसानको आम्दानी दुई गुणाले बढेको छ । आरजु राइस मिल किसानकै बीचमा गएर स्थापना गरिएको छ । यसले गर्दा किसानले बजारको लागि बिचौलियाको गोलचक्करमा फस्नु परेको छैन ।

आरजु राईस मिलले धान उत्पादनमा किसानलाई सहयोग पनि गरिरहेको छ । सँगसँगै सरकारले तोकेको न्यूनतम समर्थन मूल्य भन्दा बढी मूल्यमा धान खरिद गरिदिएको छ । त्यो पनि किसानको खेतमै पुगेर । यसअघि धान विक्री भएपछि ६ महिना एक वर्षसम्म रकम नपाउने चिन्ता पनि किसानलाई छैन । आरजुले आफूले किनेको ४८ घण्टाभित्र किसानकै खातामा पैसा जम्मा गर्ने गरेको  छ ।

धान खरिद मात्रै नभएर आरजु राइसमिलले आरजु लङ रेन्च चामल पनि उत्पादन गरिरहेको छ । जुन चामल स्वास्थ्यकर, स्वादिलो र गुणस्तरीय रहेको मिलको दाबी छ ।

यसअघि किसानहरूले आफ्नो खेतमा अर्कै जातको धान फलाउने र अर्को जातको चामल खाने गर्थे । अहिले भने रामधान फलाइरहेको र त्यही धानको चामल खाने गरेको किसान बताउँछन् । यो थोरै पानीमा सजिलै पाक्ने, बालबच्चा र बुढाबुढीसम्मले सजिलै खानसक्ने रहेको मिलका टेक्निकल मेनेजर वसन्त ढुङ्गानाको दाबी छ ।

मोरङ, सुनसरी र झापाका उपभोक्ताले पनि यो चामल माग गर्न थालेको उनले बताए । ‘रामधानको आरजु लङ रेन्ज चामल राम्रो मात्रै नभएर सस्तो पनि छ । यसभन्दा अगाडि किलोमा ५० रुपैयाँ सस्तो पर्न जान्छ । लङ रेन्ज चालम अहिले बजारमा ३५ सय रुपैयाँमा २० किलोको बोरा पाइरहेको छ भने आरजुबाट उत्पादन भएको त्यही चामल २० किलोको २३ सय रुपैयाँमा पाइरहेको छ,’ उनले भने ।

Aaraju Rice Mill (3)

आरजु राईसमिलले किसानलाई निर्वाहमुखीबाट व्यवसायी मुखी बनाएको र उपभोक्तालाई सस्तोमा चामल विक्री गरिरहेको बुद्ध एयरका प्रबन्धक वीरेन्द्रबहादुर बस्नेत बताउँछन् । आरजु राइस मिलसँग अहिले ३ हजार किसान जोडिएका छन् । ति किसानसँग झन्डै ३ हजार विगाहा खेतमा राम धान लगाएका छन् । उनीहरुले लगाएको धान धेरैजसो आफ्नो मिलमा आउने मिल प्रशासनले जनाएको छ ।

यस पटक उक्त मिलले प्रतिमन ११५० रुपैयाँ प्रतिमनमा किसानबाट धान खरिद गरेको छ । उत्पादित चामल नेपालमै खपत बढ्दा विदेशबाट चामल आयात गर्नुपर्ने अवस्था कम हुने मिलको दाबी छ ।

मोरङको बेलबारी ९ मा झन्डै ५० करोड लागतमा आरजु राइस मिल स्थापना भएको हो । मिलको क्षमता प्रति वर्ष २५ हजार टन धान कुट्न सक्ने रहेको छ । धान उत्पादक किसानले न्यूनतम समर्थन मूल्य नपाउने, बिचौलियाले नाफा धेरै खाने, धानको बिउको व्यवस्थापनमा विभिन्न झन्झट व्यहोर्नुपर्ने र विक्री हुँदा पनि समयमै पैसा नपाउने किसानको समस्याको समाधान आफूहरु गर्ने संचालक बस्नेतको दाबी छ । यति मात्रै होइन आरजु राईस मिलले अन्य राईस मिलले जस्तो भारतबाट धान नल्याउने, स्वदेशमै उत्पादन भएको धानमात्रै खरिद गर्ने जनाएको छ ।

मिलका अपरेसनल टेक्निकल मेनेजर ढुंगानाले मिल अत्याधुनिक रहेको जानकारी दिए । बिचौलियाबाट हैरानी खेपिरहेका किसानले आरजु राइस मिल संचालनमा आएसँगै राहतको महसुस गरेको बेलबारी ९ मोरङका किसान रामचन्द्र खनाल बताउँछन् । यस्तै रंगेली २ मोरङका किसान वीरबहादुर थापाले पनि आफूहरु आरजु राईस मिलसँग सहकार्य गरेर धान उत्पादन बढाउन तयार रहेको बताए ।

बेलबारी ११ का किसान राजकुमार दंगालले आरजु राइस मिलले दिएको बिउबाट उत्पादन बढेको बताए । धान खरिद र विक्रीमा यसअघि झन्झट व्यवहोर्नु पर्ने, विक्रीको पैसा समयमा नपाउने समस्या हल भएको उनले बताए । उनले मिलबाट उत्पादित चामलको गुणस्तर राम्रो रहेको पाइएको पनि बताए । स्थानीयस्तरमा यति ठुलो लगानीमा राइस मिलका कारण कृषकले धानको उचित मूल्य पाउने कृषि विज्ञ डाक्टर राजेन्द्र उप्रेती बताउँछन् ।

the authoradmin