Thursday, July 16

अन्तरक्रिया गर्दै पोखरामा मनाइयो २९ औं आदिवासी दिवस

नेपालअखबार, पोखरा । पोखरामा २९ औं विश्व आदिवासी दिवसको अवसरमा ‘अबको राष्ट्रनिधि राष्ट्रिय नीति आदिवासी भूमि भाषा ज्ञान सीप संस्कृतिको पुर्नजागृती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लोकोत्तर लोकवादी विचार अभियान, नाङसाल तामाङ सेवा समाज, ल्हस्यो ह्याङ्ला संस्कृति समाज तथा नाङसाल मिडिया प्रालिले सँयुक्त रुपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आदिवासी दिवस मनाएको हो ।
अन्तरक्रिया कार्यक्रमकी प्रमुख अथिति गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले शुभकामना प्रदान गर्दै विश्वभर रहेका आदिवासी तथा जनजातिहरु एक हुन आवश्यक रहेको बताइन् ।
उनले नेपाल बहुभाषिक, बहुसांस्कृति तथा बहुधार्मिक देश भएकाले सम्पूर्ण समुदाय निर्णायक तहमा पहुँच स्थापना हुनुपर्ने धारणा राखिन् ।
प्रदेश सांसद तामाङले फरक प्रसंगमा बोल्दै पछिल्लो समय मगर, तामाङ तथा मुस्लिम समुदायमाथि अव्यवहारिक टिप्पणी दिएकी अधिवक्ता भगवती पाण्डे (शितल) लाई कारवाही गरिनुपर्ने उल्लेख गरिन् । साथै उनले सो विषय गण्डकी प्रदेशको सदनमासमेत उठाउने प्रतिवद्धता जनाएकी थिइन् ।
उनले कुनैपनि जाति विशेष लान्छना लगाउने र जातिय सद्भाव भड्किने खालका अभिव्यक्ति दिन नहुने बताइन् ।
यस्तै नेपाल तामाङ घेदुङको पूर्व केन्द्रीय अध्यक्ष धन प्रसाद तामाङले ‘अबको राष्ट्रनिधि राष्ट्रिय नीति आदिवासी भूमि भाषा ज्ञान सीप संस्कृतिको पुर्नजागृती’ विषयककार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भूमी आयोगको विज्ञ सदस्य सोम नेपाली, तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङ, लोक सम्पदा अनुसन्धान अभियानको अध्यक्ष याम घर्तीमगर, सामाजिक अभियन्ता तथा पहिचानवादी नेता निर्मल जिसी, तमु ह्युला छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य रुद्र बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रेम तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा साजन तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन चन्द्र ग्याबक तामाङ (मुस्कान) ले गरेका थिए ।

Advertisement

 

Advertisement
Advertisement

Advertisement